तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन तथा विपद् व्यवस्थापनका लागि बजेट रकमान्तर गरिने

काठमाडौँ । सरकारले आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आसन्न निर्वाचन तथा विपद् व्यवस्थापनका लागि चालु आर्थिक वर्षको स्वीकृत बजेट भित्रका आयोजनाहरूबाट रकमान्तर गरी बजेट व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले अहिलेको विशेष परिस्थितिका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न स्वीकृत बजेट भित्रका आयोजनाहरूबाट रकमान्तर गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको श्रोत व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र (ऊर्जा बण्ड) निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैङ्कबाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

यस्तै मन्त्रिपरिषद् बैठकले असोज १९  २० गते गृहमन्त्रालयले दिएको सार्वजनिक बिदा समर्थन गर्ने, नेपाली महावाणिज्य दूतावास कोलकाताको स्वामित्वमा रहेको ४ सय ९ दशमलव ५३ वर्गमिटर जग्गा भारतीय रेल विकास निगम लिमिटेडको स्वामित्वमा सोही ठाउँमा रहेको ५ सय २६ दशमलव ३४ वर्गमिटर जग्गासँग सट्टापट्टा गर्न स्वीकृति प्रदान गर्ने, राजपत्राङ्कित प्रथम श्रेणीका १५ जना सहसचिवहरूको सरुवा गर्ने, शहरी विकास सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक तथा नगर विकास कोष सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button