पहिरोमा रोकिएका चार विदेशीको उद्धार

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ मा पर्ने लामाबगर–लप्ची सडक खण्डको देउराली भन्ने ठाउँमा मङ्गलवार बिहान सुख्खा पहिरो गएर सडक अवरुद्ध भएपछि लुमनाङमा रोकिएका चार जना विदेशी पर्यटकको बिहीबार बिहान उद्धार भएको छ ।
स्थानीय प्रशासनको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नासा हाइड्रोपावरका कर्मचारीहरूले उनीहरूलाई पहिरो गएको ठाउँबाटै उद्धार गरेर लामाबगर पठाएको नासा हाइड्रो पावरका प्रशासन प्रमुख हेमराज तामाङले बताउनुभयो ।
देउरालीमा सुख्खा पहिरो गएर सडक अवरुद्ध भएपछि विदेशी पर्यटकहरू रसियाका एलना सकारबुओ र पावेल ससकिन तथा स्वीटरजरल्याण्डका योलिया सोसिडोभा र टेमोफी डेनिसोभ दुई दिन देखि लुमनाङमा रोकिएका थिए ।
उनीहरुलाई बुधवार नै उद्धार गर्ने प्रयास गरिएको भएपनि हेलिकप्टरको अभावका कारण सम्भव भएको थिएन । बिहीबार भने बिहानै उनीहरू लुमनाङबाट देउराली तर्फ पैदलै झरेका थिए । बिहीबार साँझ ७ बजे उनीहरूको आफ्नो देश फर्कने टिकट भएकोले सबैको सहयोगमा उनीहरू जोखिम मोलेरै बिहीबार बिहान पैदलै लामाबगरसम्म आएका हुन् ।
देउराली पहिरो स्थलबाट उद्धार गरेपछि उनीहरू सवारी साधन मार्फत दिउँसो २ बजे चरिकोट आइपुगेको र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी काठमाडौँ गएको प्रमुख जिल्ला अधिकारी भोला दहालले बताउनुभयो । बिहीबार उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी गरिएकोमा उनीहरू बिहानै लुमनाङबाट पैदल नै झरेकोले देउराली पहिरो स्थलबाट सबैको सहयोगमा उद्धार गरि सवारी साधन मार्फत काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दहालले बताउनुभयो ।
चार विदेशी सुरक्षित काठमाडौँ आएर आफ्नो देश फर्कने तयारीमा रहेको उनीहरूको सम्पर्क व्यक्ति लप्चीका स्थानीय लाक्पा शेर्पाले बताए ।







प्रतिक्रिया राख्नुहोस्