मूल्य लगातार उकालो लागेसँगै वीरगञ्जमा सुन किन्नेहरूको भीड, दैनिक करोडौँको कारोबार
वीरगञ्ज। नेपालीहरूको तिहार र छठ जस्ता पर्व एवं विवाहको सिजन नजिकिँदै गर्दा सुनको मूल्य लगातार उकालो लागेसँगै वीरगञ्जको सुनचाँदी बजारमा चहलपहल र कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।
सुनको मूल्य तोलामा तिहारअघि नै २ लाख ५० हजार रुपैयाँसम्म पुग्ने पुग्ने अनुमानसँगै उपभोक्ताहरूमा अग्रिम खरिदको होडबाजी देखिएको छ ।
वीरगञ्जका सुनचाँदी पसलहरूमा हाल दैनिक ४ देखि ५ करोड रुपैयाँको कारोबार भइरहेको स्थानीय व्यवसायीहरू बताउँछन् । एक प्रमुख सुनचाँदी पसलका सञ्चालकका अनुसार, तिहार र विवाहको सिजनले मागमा वृद्धि भएको र सुनको मूल्य तिहारअघि नै २ लाख ५० हजार रुपैयाँसम्म पुग्ने अनुमान छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार छापावाला सुनको मूल्य तोलामा २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । मूल्यवृद्धिको पछाडि विश्व बजारमा सुनको मूल्यमा आएको उतारचढाव, नेपाली बजारमा मागको दबाब र आपूर्तिको कमी प्रमुख कारक रहेको विश्लेषण गरिएको छ ।

भारतमा सुनको मूल्य तुलनात्मक रूपमा सस्तो भएकाले पछिल्लो समय वीरगञ्जको बजारमा अनधिकृत रूपमा सुन भित्रिने क्रम बढेको प्रहरी स्रोतले जनाएको छ ।
सीमा क्षेत्रमा निगरानी कडा पारिए पनि तस्करीको जोखिम कायमै छ । अवैध कारोबारले स्थानीय बजारमा सुनको मूल्यलाई थप अस्थिर बनाउन सक्ने र वैधानिक व्यवसायीहरूलाई चुनौती थप्ने व्यवसायीहरूको भनाइ छ । तस्करीले बजारमा कृत्रिम अभावको जोखिम बढेको कारण उपभोक्तालाई थप मूल्यवृद्धिको मारमा पार्न सक्छ ।
बजारमा सुनको माग उच्च भए पनि आपूर्ति भने सीमित छ । व्यवसायीहरूका अनुसार, असन्तुलनले मूल्यवृद्धिलाई थप बल पु¥याएको छ । तिहार नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुने सम्भावनाप्रति व्यवसायीहरूले सचेत रहन आग्रह गरेका छन् ।
केही व्यवसायीहरूले माग र आपूर्तिको खाडललाई उपयोग गर्दै मूल्यमा हेरफेर गर्न सक्ने सम्भावना रहेको विश्लेषकहरूको अनुमान छ । यस्तो अवस्थामा उपभोक्ताहरूलाई गुणस्तरीय र विश्वसनीय पसलबाट मात्र खरिद गर्न सुझाव दिइएको छ ।
वीरगञ्जको सुनचाँदी बजारको उछालले स्थानीय अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै प्रभाव देखाएको छ । एकातिर, कारोबारको वृद्धिले व्यवसायीहरूको व्यापार फस्टाएको छ भने अर्कोतिर मूल्यवृद्धि र तस्करीको जोखिमले उपभोक्ताहरूमा अनिश्चितता बढाएको छ ।
सुनको मूल्यमा आएको उछालले विशेषगरी मध्यम वर्गीय र न्यून आय भएका परिवारलाई विवाह र तिहारजस्ता सांस्कृतिक अवसरमा सुन खरिद गर्न आर्थिक दबाब सिर्जना गरेको छ । सीमापार तस्करीको मुद्दाले बजारको पारदर्शिता र नियमनको आवश्यकतालाई उजागर गरेको छ ।
सरकार र सम्बन्धित निकायले तस्करी नियन्त्रण गर्न थप प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ । साथै, सुनको आपूर्ति व्यवस्थालाई सहज बनाउन र कृत्रिम अभाव रोक्न बजार अनुगमनलाई तीव्रता दिनु पर्ने आवश्यकता रहेको व्यवसायीहरूले बताएका छन् ।
उपभोक्ताहरूलाई तिहार र विवाहको सिजनमा सुन खरिद गर्दा सावधानी अपनाउन व्यवसायीहरूले सुझाएका छन् । मूल्यवृद्धिको हल्लाबाट प्रभावित नभई विश्वसनीय पसलबाट गुणस्तरीय सुन खरिद गर्न र बिल अनिवार्य लिन सुझाव दिइएको छ ।
प्रतिक्रिया राख्नुहोस्