पहिरोका कारण लुम्नाङमा रोकिए विदेशी पर्यटक
दोलखा । दोलखाको विगु गाउँपालिका–१ मा पर्ने लामाबगर– लप्ची सडक खण्डको देउराली भन्ने ठाउँमा मङ्गलवार बिहान सुख्खा पहिरो गएर सडक अवरुद्ध भएपछि चार जना विदेशी पर्यटकसहित ९ जना लुमनाङमा रोकिएका छन् । उनीहरू लप्ची गुम्बाको भ्रमणबाट फर्किएका हुन् ।

पैदल आउन समेत जोखिम रहेकोले उनीहरू मङ्गलवार बिहानैदेखि लुमनाङको इलुकमा रहेको नासा हाइड्रो पावरको क्याम्पमा रोकिएको हाइड्रो पावरका प्रशासन प्रमुख हेमराज तामाङले बताए । इलुक क्याम्पमा चार जना विदेशी पर्यटक, दुई जना उनीहरूको गाइड र तीन जना भरिया रहेको र उनीहरुलाई नासा हाइड्रो पावरले खाने– बस्ने व्यवस्था गरिदिएको तामाङले बताए । पहिरो गएको देउरालीबाट लुमनाङ १५ किलोमिटर माथि रहेको छ ।
पहिरोका कारण लुमनाङको इलुकमा रोकिएका विदेशी पर्यटकहरूमा रसियाका एलना सकारबुओ र पावेल ससकिन तथा स्वीटरजरल्याण्डका योलिया सोसिडोभा र टेमोफी डेनिसोभ रहेका छन् ।
उनीहरूले भिसा अवधि समेत सकिन लागेको र बिहीबार आफ्नो देशमा फर्कनुपर्ने बताएको तर पहिरोका कारण उनीहरुलाई लामाबगर निस्कन समस्या भएको तामाङको भनाई छ । उनीहरूले हेलिकप्टर चार्टर गरेर भएपनि काठमाडौँ जान चाहेको तर त्यो पनि सम्भव नभएको नासा हाइड्रो पावरका प्रशासन प्रमुख तामाङले बताए । बिहीबार बिहानसम्म पनि हेलिकप्टरको व्यवस्था हुन नसके उनीहरुलाई पैदल नै उद्धारको प्रयास गरिने तामाङको भनाई छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दहाल पहिरोका कारण विदेशी पर्यटक लुमनाङमा रोकिएको जानकारी आएपछि हेलिकप्टर व्यवस्थापनको लागि प्रयास भइरहेको बताए ।
प्रतिक्रिया राख्नुहोस्