मधेश प्रदेशमा मतदाता नामावली सङ्कलन गराउनेको भिड
जनकपुरधाम । नेपाल सरकारले प्रतिनिधि सभाको नयाँ निर्वाचनका लागि मिति घोषणा गरेसँगै मतदाता नामावलीमा नाम समावेश गराउन निर्वाचन कार्यालयमा सर्वसाधारणको भिड बढेको छ ।
निर्वाचन घोषणा लगतै निर्वाचन आयोगले नयाँ मतदाताको नामावली सङ्कलनका लागि आह्वान गरेपछि अहिले जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा फारम भर्ने तथा फोटो खिचाउने, नयाँ मतदाता नामावलीमा नाम समावेश गराउनेको भिड बढेको हो ।

नेपाल सरकारले अगामी फागुन २१ गते प्रतिनिधि सभाका लागि निर्वाचनको मिति तोकेर निर्वाचन सम्बन्धि गतिविधि बढाएपछि अहिले निर्वाचनमा मतदान गर्नका लागि विवरण दिने तथा फोटो खिचाउनेहरूको भिड बढेको मधेश प्रदेशको निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।
१६ वर्ष पुरा भई नेपाली नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्नका लागि फोटो सहितको विवरण नेपालको जुनसुकै निर्वाचन कार्यालयमा पुगेर भर्न दिन मिल्ने भएकाले मधेश प्रदेश कार्यालय जनकपुरधाममा भिड बढेको सो कार्यालयका कम्प्युटर अधिकृत कृष्णचन्द्र राउतले जानकारी दिनुभयो ।
अगामी निर्वाचनमा मतदान गर्नका लागि २०८२ साल फागुन २० गतेसम्ममा १८ वर्ष पुरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । जेन्जी पुस्ताको आन्दोलनपछि फागुन २१ गते हुनलागेको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि युवा पङ्क्तिहरू बढी अग्रसर देखिएका छन् ।

निर्वाचन आयोगको जनकपुरधामस्थित मधेश प्रदेश कार्यालयमा दैनिक रुपमा २ सय भन्दा बढी व्यक्ति फोटो खिच्न आउन थालेको सो कार्यालयले जनाएको छ । दसैँको विदापछि कार्यालय खुलेको पहिलो दिनमा नै ८५ जनाले फोटो खिचाएका छन् भने अर्को दिनदेखि संख्या बढ्न थालेको छ । हिजो मात्र २ सय भन्दा बढीले फोटो खिचाएका छन् । अनलाइनबाट आफै विवरण भरेर फोटो खिचाउन मिल्ने पनि कार्यालयले जनाएको छ ।
अहिले मतदाता नामावली सङ्कलनका लागि दुई ठाउँबाट फोटो खिच्ने कार्य भइरहेको र अहिलेको अनुपातमा भिड बढेपछि जनशक्ति र कम्प्युटर थप गरी कायृ गर्ने निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ । नयाँ मतदाता बन्नका लागि युवा तथा युवतिहरूमा अत्यधिक उत्साह देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्