बेमौसमे वर्षाले बाली भित्र्याउन नपाउँदा किसान चिन्तित
मुगु । हिमाली जिल्ला मुगुमा बाली भित्र्याउने समयमै लगातार पानी परेपछि किसान चिन्तामा परेका छन्। असोज महिनामा पाक्ने कोदो, धान र मार्से बाली भित्र्याउने तयारीमा रहेका किसानलाई बेमौसमी वर्षाले ठूलो समस्या पारेको छ।
छायानाथ रारा नगरपालिका– ७ का किसान पर्बुजङ्ग शाही भन्नुहुन्छ “वर्षको एकपटक मात्र उत्पादन हुने धान, कोदो लगायतका बाली यही बेला भित्र्याउने हो तर मङ्गलवारदेखि आज सम्म पटक ,पटक परेको पानीले बाली कुहिने डर लाग्न थालेको छ।” उहाँका अनुसार अहिले बाली टिपेर भित्राउने तयारीमा रहेका थियौँ तर वर्षालेले काम रोक्न बाध्य भएका छौ ।

‘यदि पानी यस्तै परिरह्यो भने कोदो कुहिने र सिमी पनि बिग्रिने डर छ,’ उहाँले चिन्ता व्यक्त गरेका छन् । ‘यसरी बाली नष्ट भए यहाँका धेरै परिवारलाई खाद्यान्न संकट पर्ने खतरा देखिएको छ ।
छायानाथ रारा नगरपालिका– १ का कृषक दानबहादुर हितानका अनुसार दुर्गम बस्तीका किसानलाई मौसमको जानकारी समयमै नपुग्दा वर्षाले हुने क्षति अझ बढी हुने गरेको छ। उहाँले स्थानीय तह र कृषि कार्यालयले किसानलाई समयमै जानकारी दिने प्रणाली विकास गर्नुपर्ने सुझाव दिनुभयो ।
कोदो, धान र सिमी पाक्ने समयमा परेको पानीका कारण खेतमा ढलेका बाली कुहिन थालेका किसानले बताएका छन्। जिल्लाको ६५ हजार ९८० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३० हजार ४ सय हेक्टरमा धान खेती हुने गरेको छ। तर, ज्ञान केन्द्रका अनुसार जिल्लाको केवल ३० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ।
प्रतिक्रिया राख्नुहोस्