बाँकेका तुला बुढा कालिज पालनमा सफल उद्यमी
बाँके। बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीका तुला बुढा अहिले कालिज पालन व्यवसायमा सफल उदाहरण बनेका छन्। जंगलमा पाइने बोटबिरुवा, झारपात र किरा–फट्यांग्रा खाएर हुर्किने कालिजलाई उनले व्यवस्थित खोरमा पाली व्यवसायिक रूपमा विस्तार गरेका छन्।
गत वर्ष करिब डेढ सय कालिज पालेर सुरुवात गरेका बुढाको फार्ममा अहिले तीन सयभन्दा बढी कालिज छन्। स्वादिलो र स्वास्थ्यका हिसाबले फाइदाजनक भएकाले बजारमा यसको माग तीव्र बढ्दो छ।
‘मागअनुसार कालिज पु¥याउन गाह्रो परेपछि यो वर्ष संख्या बढाएर तीन सय पुर्याएका हौं,’ उनले भने। उनका अनुसार उत्पादन भएका कालिज बाँके, बर्दिया, सुर्खेत र काठमाडौंसम्म पनि पठाइन्छन्। ‘काजिल किन्न ठाउँ–ठाउँबाट मानिसहरू आउँछन्, धेरैजसोले त फोन गरेरै अर्डर गर्छन्,’ बुढाले थपे।
करिब १० लाख रुपैयाँको लगानीमा उनले कालिजका लागि आधुनिक खोर बनाएका छन्। फलामको जालीले घेरेको खोरको माथिल्लो भागमा पनि धागोको जाली लगाइएको छ ताकि कालिज उडेर भाग्न नपाओस्। ‘कालिज उड्ने पक्षी भएकाले माथि पनि जाली अनिवार्य हुन्छ,’ उनले बताए।
कालिजलाई कुखुराको दानासँगै हरियो घाँस, रुखबिरुवाको पात तथा स्थानीय बोटबिरुवाका फल खुवाइन्छ। बुढाले आफ्नै बारीमा किमु, सलिफा, इपिल, कटहर, बोकाइनो र निमलगायतका बिरुवा रोपेका छन्। ‘कालिज जंगलमा बस्ने पक्षी हो, त्यसैले जंगलमै पाइने जडीबुटी र झारपात खान रुचाउँछ,’ उनले भने।
उनका अनुसार कालिजले बिरुवाको बोक्रासम्म खाइदिने भएकाले बेलाबेलामा नयाँ बोट रोप्नुपर्छ। ‘यिनीहरूले केही बाँकी राख्दैनन्, पात र फल खान रुखको टुप्पासम्म पुग्छन्,’ उनले हाँस्दै भने।
बुढाले अहिले भाले कालिजको मूल्य प्रतिवटा तीन हजार रुपैयाँ र पोथी कालिजको दुई हजार पाँच सय रुपैयाँ तोकेका छन्। उनका अनुसार भालेको तौल बढी हुने र मासु स्वादिलो भएकाले त्यसको माग पनि बढी छ।
गत वर्ष लगानीको अधिकांश रकम खोर निर्माणमा खर्च भए पनि यस वर्षदेखि नाफा हुने अपेक्षा राखेका छन्। ‘पहिलो वर्ष लगानी उठ्यो, अब फाइदा हुने विश्वास छ,’ उनले बताए।
बुढाले हाल अण्डाबाट चल्ला निकाल्ने मेसिनसमेत खरिद गरेका छन् र अण्डा तथा चल्ला दुबै बिक्री गर्दै व्यवसाय विस्तारमा लागेका छन्। उनका अनुसार, ‘नेपालमा कालिज पालन नयाँ भए पनि यसको बजार र सम्भावना दुवै विशाल छन्। मेहनत र लगनशिलताले यो व्यवसायले राम्रो भविष्य देखाएको छ।’








प्रतिक्रिया राख्नुहोस्