तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरी गोरखामा असोजमै हिमपात

गोरखा । पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका–१ साम्दोमा सोमबार हिमपात भएको हो ।

असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले बताउनुभयो । “जाडो मौसममा पर्ने हिउँभन्दा अहिले परेको हिउँ धेरै गह्रुङ्गो हुन्छ । यस्तो हिउँले आलुलगायत बालीमा असर पुर्‍याउँछ”, उहाँले भन्नुभयो, “हाल बाक्लो हिमपात नभएकाले खेतीबालीमा असर देखिएको छैन ।”

लामाका अनुसार आज दिउँसोबाट अलिअलि घाम लाग्न थालेकाले हिउँ बिस्तारै पग्लिँदै गएको छ । अब मौसम सफा हुनेबित्तिकै खेतीबाली भित्र्याउने तयारीमा किसान छन् ।  

साम्दो समुद्री सतहबाट तीन हजार ८९० मिटर उचाइमा अवस्थित छ । यहाँ आलु र फापर मात्र उत्पादन हुन्छ । साम्दोवासीको मुख्य व्यवसाय पर्यटन हो । हिउँ परेपछि पर्यटक भने उत्साहित भएका छन् । 

मनास्लु आरोहणको सिजन सुरु भएसँगै गाउँमा पर्यटकको चहलपहल समेत बढेको स्थानीयले बताएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button