तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले सडक अवरुद्ध भएपछि लप्चीवासीलाई समस्या

दोलखा । लामाबगर– लप्ची सडक खण्डको देउराली भन्ने ठाउँमा मङ्गलवार बिहान सुख्खा पहिरो गएर सडक अवरुद्ध भएपछि लप्चीका स्थानीयलाई आवत– जावतमा समस्या भएको छ । दोलखाको विगु गाउँपालिका वडा नम्बर–१ मा पर्ने देउराली सडक खण्ड लामाबगरबाट चार किलोमिटरको दूरीमा पर्दछ ।

विगु गाउँपालिका वडा नम्बर– १ मा पर्ने लप्ची चीनको तिब्बतसँग सिमाना जोडिएको गाउँ हो । यो गाँउमा ३४ घरधुरी रहेको भए पनि अहिले चौँरी पालनमा संलग्न १२/१३ घरधुरीका मानिस मात्र बसोबास गर्दै आएका छन् । सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि लप्चीका बासिन्दालाई चाडपर्वको समयमा आवतजावत तथा आवश्यक सर्जाम किनमेलको लागि लामाबगर बजार आउन समस्या भएको स्थानीय कर्मा शेर्पाले बताए ।

लामाबगर– लप्ची सडकको ११ सय मिटर सुरुङ मार्गदेखि  छाङछेमुसम्मको २२ किलोमिटर सडक नासा हाइड्रोपावरको लगानीमा निर्माण गरिएको हो । सडकमा सुख्खा पहिरो गएपछि हाईड्रोपावरहरुको काममा समेत समस्या भएको नासा हाइड्रो पावरका प्रशासकीय अधिकृत हेमराज तामाङले बताए । 

देउराली सडक खण्डमा सुख्खा पहिरोको जोखिम कायमै रहेकोले सडक मर्मत गर्न केही समय लाग्ने दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । 

झुलेमा ६ घर पहिरोको जोखिममा

दोलखाकै तामाकोशी गाउँपालिका वडा नम्बर–२ झुले पातले सिमबारीमा अविरल बर्षाको कारण जमिन भासिन थालेपछि ६ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए । 

जोखिममा परेका घर परिवारका व्यक्तिहरूलाई तत्कालका लागि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तामाकोशी गाउँपालिका वडा नम्बर–२ का वडा अध्यक्ष ईश्वरराज कार्कीले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button