भारी बर्षाका कारण मधेश प्रदेशमा तीनको मृत्यु, सयौँ घर डुबानमा
जनकपुरधाम । शनिवार देखि परेको अविरल बर्षाका कारण मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ४ सय भन्दा बढी घर डुबानमा परेका छन् ।
भारी वर्षासँगै परेको चट्याङ्गले लागेर रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नंं २ हथियाही बस्ने १७ का वर्षिय हेमराज बरही र सोही वडाका १६ वर्षीय नवीन यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

यसै गरि चट्याङ्गको आवाजले हृदय रोगका पिडित रहनु भएका रौतहटकै ईशनाथ नगरपालिकामा एक अधबैँशे पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण विभिन्न नदिहरुमा आएको बाढीका कारण करिब ४ सय ५० घर डुबानमा परेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक उमा चतुर्वेदीले जानकारी दिनुभयो ।

बाढी तथा वर्षाले भएको डुबान तथा अन्य भौतिक क्षतिको विषयमा प्रहरीले तथ्याङ्क सङ्कलन गरिरहेको उहाँले बताउनुभयो ।
मधेश प्रदेशको रौतहट, पर्सा तथा बारामा अन्य जिल्लाको तुलनामा बढी वर्षा भएकाले यसै जिल्लाहरूमा बढी क्षतिको अनुमान गरिएको छ । यसै गरि वर्षा तथा बाढीका कारणले हजारौँ बिघामा लगाइएको धान बालीमा क्षति पुगेको छ । पाक्न लागेको धान बाढी तथा वर्षाले डुबाएका कारण किसानहरुले ठूलो क्षति बेहोरेका छन्
आज बिहान ९ बजेबाट केही जिल्लामा वर्षा रोकिएपछि विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह घट्ने क्रम शुरु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्