साहारा विहीन आमाबुबाको आश्रममा दशैँ

काठमाडौँ । आफ्ना सन्तानलाई खुसी राख्नका लागि हरेक बा आमाले आफ्ना धेरै खुसीहरू त्यागेका हुन्छन् । नौ महिना कोखमा राखेर जन्माई दश धारा दूध खुवाएर हुर्काई बढाइ गरेका तिनै सन्तानले बुढेसकालमा एक्लै छोडेर हिँड्दा कुन बाआमाको चित्त नदुख्ला ? हो त्यस्ता थुप्रै वृद्ध आमाबाहरु ओत नपाएर वृद्धआश्रममा पुगेका छन् । कतिपयलाई आफ्नै सन्तानले सडकमा छोडिदिएका भने कतिपयलाई आफन्तले त्यहाँ पुर्याइदिएका छन् । त्यस्ता वृद्धआश्रममा बस्ने बुढा बाआमाको बाल्यकालको दशैँ अहिले पनि स्मृतिमा ताजै छ । पशुपतिमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रममा १० वर्षदेखि बस्दै आउनुभएकी सर्लाहीकी सीता कार्की आश्रमको दशै रमाइलो हुने बताउनुहुन्छ । सीताका श्रीमानले अर्कै बिहे गरेपछि छोराछोरीले पनि घरबाट निकाली दिए । केही समय त उहाँ माइती गएर बस्नुभयो । घर गरेर खान नसकेकी भनेर टोकस्न थालेपछि उहाँ पशुपति आइपुग्नुभयो । नवमीको दिन आश्रम पुग्दा त्यहाँ सीता आमाजस्तै थुप्रै बाआमा एकापसमा बाल्यकालको दसैँको गफ गर्दै हुनुहुन्थ्यो भने केही आमाहरू पिङमा हल्लिरहनुभएको थियो । आश्रममा ७० जना वृद्ध बा आमा हुनुहुन्छ । उहाँहरूका अधिकांशका छोराछोरी छन् । कोही नेपालमा छन् कोही अमेरिका अस्ट्रेलियामा छन् । त्यस्तै मध्येका हुनुहुन्छ काठमाडौँ नक्सालका ७२ वर्षीय मङ्गलदास महर्जन । उहाँको श्रीमतीको २० वर्षअघि निधन भयो । छोरी बिहे गरेर दिनुभयो । एउटा छोरो लागु औषधमा फसेर सबै सम्पत्ति सकिदियो । त्यसपछि उहाँ टोल छिमेकीको सहयोगमा आश्रममा पुग्नुभयो । वर्षीय महर्जनलाई भेट्न कहिलेकाहीँ छोरो आउँछ त्यहाँ आएर उल्टै पैसा माग्छ । काठमाडाँैको रमाइलो दशैँ मनाएको सम्झँदै उहाँ यसपालिको दशँैमा आश्रमको टिका लगाएर काका काकीको घरमा जाने योजना सुनाउनुहुन्छ ।

हुन त सन्तानले लत्त्याएर वृद्धआश्रम पुगेका वृद्धा बा आमा हुन् या कोही नभएर त्यहाँ पुगेकाहरू नै किन नहुन् उमेरले पनि उनीहरूमा दसैँको कुनै उमङ्ग लिएर आउँदैन । खोटाङ घर भएकी बदना भट्टराई लाउन खान पाउनुमा नै खुसी देखिनुहुन्छ । उहाँ त पारिवारिक पीडा र हिंसाका कारण विगत सम्झनै नपरे हुन्थ्यो भन्नुहुन्छ तर कोहीन कोही आएर विगत कोट्याइदिँदा आँसु झरिहाल्ने उहाँको विगत भएको बताउनुहुन्छ ।

नातिनातिना खेलाएर ऐस आरामले दैनिकी काट्नुपर्ने उमेरका ती बाआमालाई आश्रममा आउने दशै दशै जस्तै लाग्दैन । आश्रममा बस्ने ती बाआमालाई परिवारको अभाव नहोस् भनेर दशैँमा मीठो खाना र नयाँ लुगाको पनि व्यवस्था गरिएको छ । आश्रम प्रमुख सिन्धु पाण्डे बाआमालाई जमरा राख्नेदेखि फूलपाती भित्र्याएर टिका लगाइदिने र आशीर्वाद दिने कार्यक्रम समेत गर्दै आएको बताउनुहुन्छ । आश्रममा टिकाको दिन ज्येष्ठ आमा वा बाबाबाट टिका लगाउन सुरु गरिन्छ । त्यसपछि सबैले पालैपालो टिका लगाउने खाने नाच्ने र रमाइलो गर्ने चलन आश्रममा छ ।
आश्रममा रहेका अधिकांश बाआमाका छोरा छोरी छन् । उनीहरू कोही विदेशमा छन् भने कोही काठमाडौँकै घराना छन् । कहिलेकाहीँ आमालाई भेट्न पनि आउँछन् तर लगेर पाल्छु भन्न सक्दैनन् ।

उमेरले पाका ती वृद्धा बा आमाले सन्तान र आफ्नाहरूलाई खुसी दिन हिजो गरेका त्यागको कुनै हिसाब हुन सक्दैन । आज आश्रममा बस्न बाध्य बनाउने ती छोराछोरीले पनि भोलि वृद्धाआश्रममै दशै मनाउनुपर्ने दिन नआउला भन्न सकिन्न ।
















प्रतिक्रिया राख्नुहोस्