धनकुटादेखि पाँचथरसम्म लिम्बू समुदायको मौलो काट्ने सांस्कृतिक परम्परा

धनकुटा । बडा दसैँको नवौँ दिन अर्थात् महानवमीको दिन लिम्बु समुदायले निशान नचाउँदै हर्ष उल्लासका साथ मौलो काटेका छन् ।
पुर्वी लिम्वुवानको धनकुटा, तेह्रथुम र पाँचथरमा हरेक वर्ष वडा दसैँको नवमीका दिन निशान निकाल्ने परम्परा रहेको छ । खासगरी पुर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायमा हरेक बर्ष बडादसैँको नवमीको दिन निशान निकाली मौलो काट्ने गर्दै आएको छन् । यसलाई लिम्बुवानको निशान भन्ने गरिन्छ ।
पूर्वको धनकुटा जिल्ला अन्तर्गत तत्कालीन ताङ्खुवा गाविस हाल छथरजोरपाटी गाउँपालिकामा खजुम पारघरी र चोङ्वाङ लिम्बुहरूसँग हातहतियार सहितको दुई वटा निशान, तेह्रथुममा तत्कालीन पञ्चकन्या गाविस हाल छथर गाउँपालिकाको वासिका खजुम लिम्बुहरूसँगै दुई वटा निशान, तेह्रथुम जिल्लाको सुदाप ओख्रेमा खेवा लिम्बुहरूसँग दुई वटा पुराना हातहतियार तोप सहितको निशान छ भने पाँचथरका योङहाङ लिम्बुहरू सँग पनि दुई वटा निशान छन् । यिनै निशानहरू दसैँको नवमीको दिन बाहिर निकाली पूजाआजा गरी प्रदर्शन गर्ने गरेको स्थानीय विजय लिम्बुले बताउनुभयो ।
धनकुटाको ताङ्खुवामा रहेको निशानलाई नवमीको दिन कोत घरबाट निकाली करिब डेढ किलोमिटरको दुरीमा रहेको मौलो डाँडासम्म पुर्याएर मौलो काटी पुन कोत घरमा पुर्याएर निशान लुकाउने गरिन्छ ।
त्यस्तै उता तेह्रथुमको सुदाप ओख्रेमा रहेको निशान पनि प्रदर्शन गरिन्छ । तेह्रथुम वासिकामा रहेको निशानलाई भने सामान्य पूजा मात्रै गरिन्छ । पाँचथरको याङरुपमा रहेको निशान भने हरेक वर्ष नवमीको दिन नचाइने गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्