दसैँले बजार चलायमान, व्यवसायीलाई राहत
चितवन । बडादसैँको चहलपहलसँगै यहाँका बजार पनि चलायमान भएका छन् । यहाँको नारायणगढ बजारमा किनमेल गर्नेहरूको धेरे भीड देखिन्छ ।
दसैँको समयमा विशेष गरी कपडा, जुत्ताचप्पल, खाद्यान्न, भाँडाकुँडा, सुनचाँदीलगायत पसलमा बढी भिड देख्न सकिन्छ । यहाँको मिलन रोड, सहिदचोक, कमलनगर, पुतलीबजार, लायन्सचोक लगायत स्थानमा भिडभाड बढेको छ । दसैँमा गाउँघर जानेहरू आवश्यक सामान किन्न र बाहिरबाट आएकाहरूको उपस्थितिले चहलपहल हुने गर्छ ।
नारायणगढ बजारमा बिहानैदेखि साँझ अबेरसम्म भिडभाड हुने गरेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । बजारमा चहलपहल बढे पनि अपेक्षाकृत व्यापार भने हुन नसकेको उहाँले बताउनुभयो ।
नारायणगढ बजारमा घटस्थापनापछि भिडभाड र चहलपहल बढेको फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँ नजिकिएसँगै बजारमा निकै भीड बढेको छ । पछिल्लो समय देशमा भएको राजनीति घटनाक्रम र आन्दोलनका कारण चहलपहलअनुसार व्यापार भने छैन ।”
पछिल्लो समय सुनचाँदी क्षेत्रमा व्यापार बढ्न सकेको छैन । मूल्य निरन्तर बढेपछि विगतमा जस्तो सुनचाँदीको व्यापार नभएको व्यवसायी बताउँछन् । न्यू लोकमान एण्ड सन्सका सञ्चालक ज्ञानेन्द्रमान शाक्य यो क्षेत्र विदेशमा रहेकाहरूले यहाँ आएर विवाह गर्ने र सुनचाँदी किन्ने भएकाले केही राहत मिलेको बताउनुहुन्छ । “विगतमा जस्तो सुनचाँदी किन्नेहरू छैनन् । पुराना सुन ल्याउने र नयाँ बनाएर लैजानेको सङ्ख्या बढी छ । मूल्य बढ्ने आशमा पुराना सुन बिक्री गर्नेहरू भने घटेका छन्”, उहाँले भन्नुभयो, “विगतको जस्तो व्यापार नभए पनि चाडपर्व भएका कारण अरू समयको भन्दा बढी चहलपहल छ ।”
प्रतिक्रिया राख्नुहोस्