टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
गोरखा । गोरखाको शहिदलखन गाउँपालिकाले ज्येष्ठ नागरिकलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
दसैँलाई लक्षित गरी गाउँपालिकाले प्रत्येक वडाका टोलमा पुगेर भत्ता वितरण गरेको हो ।
ज्येष्ठ नागरिकलाई सहज रूपमा भत्ता उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले वडामा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयो ।
पालिकाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्रत्येक वडाको विभिन्न ठाउँमा पुगेर वितरण गरेको उहाँले बताउनुभयो । “सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैङ्कका कर्मचारी खटिनुभएको छ । यसले गर्दा ज्येष्ठ नागरिकलाई बैङ्कसम्म आउनुपर्ने बाध्यता हटेको छ ।”, मगरले भन्नुभयो ।
ज्येष्ठ नागरिकलाई बजारसम्म झरेर बैङ्कमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाले पालिकाले घर टोलबाट वितरण गर्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले उल्लेख गर्नुभयो । “हामी जनताको सेवाका लागि आएका हौँ । जसरी सहज हुन्छ त्यसरी नै सेवामा समर्पित हुने प्रयास गर्दैछौँ ।, उहाँले भन्नुभयो । ज्येष्ठ नागरिकलाई झन्झटरहित सेवा दिन टोलमा पुगेर भत्ता वितरण गरिएपछि उहाँहरू खुसी हुनुभएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले सबै वडाका टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको छ । अन्तिम दिन आइतबार शहिदलखन गाउँपालिका–१ को बक्राङ टोलमा भत्ता वितरण गरिएको छ । चाडपर्व अघि भत्ता दिँदा सामाजिक सुरक्षा भत्ता पाउनेहरूले समाजमा अरूको भर पर्नु नपर्ने भएकाले महत्वका साथ पर्व अघि भत्ता प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृतको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्