तपाईँ सुन्दै हुनुहुन्छः

पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन निर्देशन

पर्वत।जिल्ला कारागार पर्वतबाट गत भदौ २४ गतेदेखि फरार भएका आठ जना कैदीबन्दी अझै कारागार नफर्किएकाले कारागार प्रशासनले एक साताभित्र फर्किन निर्देशन दिएको छ । कारागारबाट भागेका १९ मध्ये ११ जना फर्किए पनि आठ जना अझै सम्पर्कविहीन भएकाले फरार बन्दी खोजी तथा पक्राउ कार्यदलले सूचना जारी गरी एकसाताभित्र फर्किन निर्देशन दिएको हो ।

कार्यदलले आइतबार सूचना जारी गर्दै यही असोज २० गतेभित्र कारागार फर्किन सूचना जारी गरेको हो । कार्यदलले फरार कैदीबन्दीको नामावलीसहित सार्वजनिक सूचना जारी गरेको छ । तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन तथा प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

बर्दिया घर भई कुश्मा नगरपालिका-७ खरेहा बस्ने जबरर्जस्ती करणी मद्दाका टेकबहादुर रानामगर, कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गर्दै आएका पैंँयू गाउँपालिका-३ बेउलीबासका खेम थापा, पर्वतको विहादी गाउँपालिका-६ का जबरर्जस्ती करणी मुद्दाका थुनुवा वसन्त विक, सहकारी ठगी मुद्दाका थुनुवा फलेवास नगरपालिका-२ का अनिल थापा, सोही मुद्दामा रहेका फलेवास नगरपालिका-३ का विष्णु तिवारी, विहादी-३ रानीपानी घर भई कुश्माबजार बस्ने राजु शर्मा सम्पर्कविहीन रहेका जिल्ला कारागारका जेलर नवीन सुवेदीले जानकारी दिनुभयो ।

गोरखाको अजिरकोट गाउँपालिक-५ घर भई जबरर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएका दीपक विक र जलजला गाउँपालिका-७ बाँस्कोटका जबरर्जस्ती करणी मुद्दाका थुनुवा समुद्र केसी अझैसम्म पनि सम्पर्कमा नआएका उहाँले उल्लेख गर्नुभयो ।

कार्यदलले सार्वजनिक सूचनामार्फत फरार कैदीहरूलाई देखेमा वा उनीहरूको बारेमा कुनै जानकारी भएमा तुरुन्त जानकारी गराउनसमेत आग्रह गरेको छ । कार्यदलले फरार व्यक्तिलाई लुकाउने, छिपाउने, वा सहयोग गर्ने कार्य गैरकानुनी हुने भन्दै त्यसप्रति पनि सचेत हुन आग्रह गर्दै सूचना दिने व्यक्तिको नाम र पहिचान गोप्य राखिने जनाएको छ । फरार कैदीबन्दी फर्काउन आवश्यक समन्वय र सहकार्यका लागि सबैसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button