तेह्र सय वर्ष पुरानो महाङ्काल मन्दिरकाे पुनःनिर्माण सुरु
काठमाडौँ।सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेको महाङ्काल मन्दिरकाे पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले रु १० करोड पाँच लाख लागतमा टुँडिखेलको छेउमा अवस्थित उक्त मन्दिरकाे पुनःनिर्माण सुरु गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत इतिहास, विश्वास र सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको जानकारी दिनुभयो । उक्त मन्दिर, हिन्दू-बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको उहाँले बताउनुभयो ।
विसं २०७२ को भूकम्पमा पुनःनिर्माण गर्नुपर्ने उक्त मन्दिर विभिन्न कारणबस १० वर्ष लागेको थियो । आव २०८०/८१ को बजेटमा विनियोजन भएपछि विसं २०८१ असार १९ गतेदेखि उक्त मन्दिर पुनःनिर्माण सुरु गरिएको हो । रु १० करोड पाँच लाख लागतमा पुनःनिर्माण हुन लागेको मन्दिर विसं २०८४ असार १९ गते सम्पन्न हुनेछ ।
मन्दिर ५८३ दशमलव ८१ वर्गमिटरमा फैलिएको छ । मन्दिर पुनःनिर्माणपछि भूइँतलामा नौ कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण, छानामा परम्परागत बुइँगल र झिँगटी टायल, परम्परागत ढोका–झ्याल, काठको कलात्मकता, हरियाली र पदयात्रा मार्गसहितको वातावरण रहने छ । महानगरप्रमुख शाहले उक्त मन्दिर पुनःनिर्माण मात्र नभएर संस्कृतिको पुनःजागरणसमेत भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्