भोजपुरका किसानलाई मकै थन्काउने चटारो

भोजपुर । देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई भने मकै बाली थन्काउने चटारो छ । यहाँ प्रायः भदौ र असोज महिनामा मकै पाक्ने भएकाले किसानहरू खेतबारीमा भेला भएर मकै भाँच्ने, सुकाउने र भण्डारण गर्ने काममा व्यस्त हुन्छन् ।
यहाँको लेकाली क्षेत्रको प्रमुख अन्नबालीका रूपमा मकैलाई लिइन्छ । यहाँ धान उत्पादन कम हुने भएकाले मकै अधिकांश परिवारका लागि मकै वर्षभरको खानाको मुख्य स्रोत हो । किसानहरूले हाल घर आँगन र गोठको छानोमा मकै सुकाइरहेका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनमा वृद्धि गर्न लेकाली भेगमा उन्नत जातका मकै बाली बिस्तार भइरहेको छ । यसले किसानको आयआर्जनमा समेत सहयोग पुर्याएको केन्द्रले जनाएको छ ।
स्थानीय बजारमा दाना बिक्री गर्न सकिने भएकाले मकै किसानले नगद आम्दानी गरिरहेका छन् । स्थानीय बजारमा प्रतिपाथी रु २०० देखि २५० सम्ममा मकै बिक्री हुने गरेको किसान गोरखबहादुर विष्टले बताउनुभयो । यहाँका नौ वटै स्थानीय तहको लेकाली भेगमा मकै खेती हुने गरेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्