खसी–बोका बिक्री हुँदा किसान खुसी
कैलाली । कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ । दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै उहाँ खुसी हुनुहुन्छ ।

थापाले भन्नुभयो, “गाउँमा खसी–बोकाको त्यति माग नहुने भएपछि सहरमा ल्याएर बिक्री गरिरहेको छु । माग राम्रै छ, आम्दानीले घर खर्च चलाउन सहज हुँदैछ ।” उहाँको खोरमा १५० गोटासम्म खसीबोका छन् । हाल विशेष गरी बोकाको माग राम्रो भइरहेको र जिउँदो बोका प्रतिकिलो रु ५५० का दरमा बिक्री गर्ने गरेको थापाले सुनाउनुभयो ।
उहाँले धनगढीमा ८० बोका ल्याएर घुम्ती व्यापार गरिरहनुभएको छ । “चुरे गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत बाख्रापालन, फलफूल र तरकारी खेती हो, तर पछिल्ला वर्षमा जङ्गलमा चर्न जाने बाख्रालाई बाघले खाने समस्या बढ्दा हामी चिन्तित छौँ ।”
चुरे गाउँपालिकाका किसानले खोरमा कम्तीमा २० देखि बढीमा १५० गोटासम्म बाख्रापालन गरिरहेको बताइएको छ । व्यापारी दुर्गाबहादुर खम्जालीले चुरे क्षेत्रका खसी–बोकाको माग काठमाडौँ र पोखरासम्मका व्यापारीबाट आउने गरेको बताउनुभयो । पछिल्लो समय बलि दिने परम्परामा कमी आउन थालेको र शाकाहारी हुनेको सङ्ख्या बढ्दै जाँदा विगतका जस्तो माग भने नरहेको उहाँको भनाइ छ ।
चुरे गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ । बडादसैँको समयमा यो क्षेत्रमा पालिएका खसी–बोकाको माग बढी हुने गरेको छ । बाख्रापालन व्यवसायका लागि चुरे क्षेत्रलाई सरकारले पकेट क्षेत्र घोषणा गरे पनि सहयोग नपाइरहेको कृषकको गुनासो छ । “सरकारले बाख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ, तर कुनै किसिमको सहयोग गर्दैन, किसानले दर्ता भएको फर्मअनुसार कर मात्र तिर्दै आएका छौँ”, अधिकांश किसानको गुनासो छ ।
चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन, फलफूल, अदुवा र बेसारको खेती रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्