तपाईँ सुन्दै हुनुहुन्छः

उच्च मनोबलका साथ काम गर्न गृह सचिवको निर्देशन

काठमाडौँ । गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखापर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालयको आज निरीक्षणका क्रममा उहाँले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न थप व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

गृह सचिव दङ्गालले आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्यस क्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्रभित्र रहेर नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताउनुभयो ।

सो अवसरमा गृहसचिव  दङ्गालसमक्ष प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले सङ्गठनको संरचना एवम् विकासक्रम, अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्या तथा आगामी कार्यदिशा र अपेक्षाबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button