सिंहदरबार पुनः निर्माणमा बागलुङ कलाकार समाजको हातेमालो
गण्डकी । आन्दोलनका क्रममा आगजनीमा परेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुनःनिर्माणका लागि बागलुङ कलाकार समाज, नेपालले आर्थिक सहयोग अभियान सुरु गरेको छ । समाजले यही असोज ६ गते काठमाडौँमा आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो ।
पुनःनिर्माण कोषमा संस्थाकोतर्फबाट रु ५० हजार राखेर अभियान सुरुआत गरिएको समाजका अध्यक्ष लोकगायक वसन्त थापाले बताउनुभयो । “अहिलेसम्म झण्डै रु डेढ लाख सङ्कलन भइसकेको छ”, उहाँले भन्नुभयो, “धेरै रकम सहयोग गर्न नसके पनि देशलाई अप्ठ्यारो परेका बेला सन्देश दिन खोजिएको हो ।” तिहारसम्म अभियान सञ्चालन हुने र त्यसपछि सरकारको कोषमा रकम जम्मा गरिने अध्यक्ष थापाले बताउनुभयो ।
सुरुमा समाजकातर्फबाट मात्र केही रकम दिने भनिएकामा पछि देशविदेशमा रहेका कलाकारलगायत अन्य शुभेच्छुकले सहयोगको इच्छा देखाएपछि अभियान अगाडि बढाइएको हो । अध्यक्ष थापाले सरकारले सुरु गरेको पुनःनिर्माण कार्यमा सहयोगको भावना जागृत गराई अरू सङ्घसंस्थालाई पनि त्यसतर्फ प्रेरित गर्न सन्देशमूलक ढङ्गले यो अभियान सुरु गरिएको बताउनुभयो ।
सरकारले केही दिनअघि ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनःनिर्माण, मर्मत, आर्थिक पुनरुत्थान र राहत कार्यमा लागि भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा योगदान गर्न सबैमा आह्वान गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्