तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र श्रीलङ्काको चेम्बरबीच सहकार्यको सम्झौता

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र श्रीलङ्काको नेशनल चेम्बर अफ एक्स्पोर्टस्बीच व्यावसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीबीच प्रत्यक्ष सहकार्य गर्ने सम्झौता भएको छ । 

आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न दुई देशका यी संस्थाबीच सम्झौता भएको हो । 

सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यावसायिक मञ्चमा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले श्रीलङ्काको आर्थिक पुनर्उत्थानको विषयमा पनि अध्ययन गर्ने सहमति पत्रमा उल्लेख छ । 

दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । श्रीलङ्काका लागि नेपालका राजदूत डा पूर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल एवं श्रीलङ्काको नेशनल चेम्बर अफ एक्स्पोर्टस्का अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । 

सो सम्झौता पत्रमा चेम्बर अफ कमर्स नेपालका तर्फबाट उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय समितिका सभापति अर्जुनप्रसाद शर्मा र श्रीलङ्काको चेम्बरका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button