तपाईँ सुन्दै हुनुहुन्छः

झोलुङ्गे पुललाई सजावट  आन्तरिक पर्यटकको नयाँ आकर्षण

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल बगेको पानी र माथि झुलिरहेको झोलुङ्गे पुल । रङ्गीबिरङ्गी झण्डासँग सजिएको यो पुल अहिले गाउँको नयाँ आकर्षण बनेको छ ।

कृष्णपुर–१ का कबिन्द्रसिंह धामीले आफ्नै  खर्चबाट २० हजार रुपैयाँ खर्च गरेर पुल सजाएका छन् । पहिले साधारण देखिने पुल अहिले फोटोग्राफी प्रेमी र आन्तरिक पर्यटकका लागि आकर्षक स्थल बनेको छ । केही समय अघिसम्म धामी कैलालीको गोदावरी पुलमा फोटोग्राफी गरेर जीविकोपार्जन गर्दै आउनु भएको थियो ।  “काम रमाइलो भए पनि, कमाइ प्रायःबस–भाडा र खानपिनमै सकिन्थ्यो उहाँले भन्नुभयो, “किन आफ्नै गाउँमा केही नयाँ गर्न सकिँदैन भनेर सोचे, गाउँ नजिकैको अलपत्र रहेको पुललाई सजाउने निधो गरे सजाए, अहिले यो नगरपालिका क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र बनेको छ ।”

पर्यटक आउँदा गाउँको सुन्दरता अनुभव गर्न सकुन भने उद्देश्यले पुल सजावटमा लगानी गरेको उहाँ बताउनु हुन्छ । “प्राकृतिक दृश्यसँगै सजावट मिसिँदा अझै सुन्दर फोटो आउँछ,” उहाँ भन्नुहुन्छ, “त्यै भएर पर्यटकले यस क्षेत्रलाई गन्तव्य बनाएका छन् ।”

धामी यतिमै रोकिएका छैनन् । उहाँको अर्को योजना नजिकैको पक्की पुललाई पनि झण्डा र रङ्गिन सजावटले आकर्षक बनाउने रहेको छ । 

पुलमा सजावट गरिएपछि  दैनिक सयौँ मानिस घुम्न आउन थालेका छन् । फोटो खिच्नेको भीडले गाउँमा नयाँ उत्साह ल्याएको स्थानीय रामबहादुर साउदले बताउनुभयो । 

“अलपत्र अवस्थामा रहेको पुल पर्यटकको गन्तव्य बनेको नै छ” उहाँले भन्नुभयो, “गाउँका बासिन्दाको आय आर्जनमा वृद्धि हुन थालेको छ, गाउँमा उत्पादन भएका फलफूल, खाद्य सामग्री बिक्री हुन थालेका छन् ।”

पुलमै मोबाइल फोनको क्यामेरामा सेल्फी लिँदै गरेका भेटिएका टेकबहादुर साउद भन्छन्, “पहिले हाम्रो गाउँ सामान्य मात्र थियो, तर अब पुलले नयाँ पहिचान दिएको छ, यो केवल फोटो खिच्ने ठाउँ मात्र रहेन, हाम्रो गाउँको पर्यटन विकासको आधार बन्न थालेको छ ।” 

उहाँ अगाडी थप्दै भन्नुहुन्छ, “पहिले यहाँ कोही आउँदैनथ्यो, अब त फोटो खिच्न मात्र नभई रमाउन आउनेको पनि भीड लाग्छ ।” तीनतर्फ नदीले र अर्कोतर्फ घना वन क्षेत्रले जोडिएको बेलडाँडी गाउँ जोडनका लागि दशकअघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । निर्माण भएको वर्ष दिन नपुग्दै त्यस नजिकै पक्की मोटेरेवल पुल बनेपछि झोलुङ्गे पुलमा आवतजावत बन्द भएको थियो । 

त्यस पुललाई नगरपालिको अन्यत्र लगेर जडान गर्न चासो नदेखाएपछि अलपत्र अवस्थामै थियो । छिमेकी गाउँका युवाले पुल सजावट गरिदिएपछि यसले चर्चा पाएको साउदको भनाइ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button