धानबालीमा मरुवा रोगको समस्या
चितवन । जिल्लामा लगाइएको धान खेतीमा मरुवा रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले अधिकांश धान खेतीमा यो रोगको समस्या देखिएको हो ।
कार्यालयका बालीविकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना यो रोगको समस्या लिएर आउने गरेका छन् । ढुसीका कारण लाग्ने यो रोग लाग्ने गर्दछ । अहिलेको समयमा देखिएको मरुवा रोग नियन्त्रणका लागि पानी जमाई राख्नु पर्ने उहाँले सुझाव दिनुभयो । यो रोग लाग्दा पातमा स–साना सेता टीकाबीचमा भएको लाम्चिला खैरा थोपा देखिने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिने गर्दछ । यो रोग देखिएमा नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गर्न उहाँले सुझाव दिनुभयो । खेतमा पानी जमाई राख्न पनि उहाँको सुझाव छ । ढुसी सहन सक्ने जातका धान लगाउनु पर्ने उहाँले जानकारी दिनुभयो ।
जिल्लामा यस वर्ष २७ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । रोग, किरा र बुढो बिउ रोप्नुपर्ने बाध्यताका कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्