प्राध्यापक कँडेललाई राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्रदान
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७ औँ जन्मजयन्तीको अवसर पारेर मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज राष्ट्रकवि घिमिरे निवास लैनचौरमा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।
नगद रु एक लाख राशिको उक्त पुरस्कार वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठीले प्राध्यापक कँडेललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा त्रिपाठीले राष्ट्रकवि घिमिरेको हरेक कवितामा राष्ट्रिय भाव झल्किएको बताउनुभयो । गद्य कवितालाई गीतमा ढाल्ने कवि घिमिरे भएको उहाँको भनाइ थियो ।
पुरस्कृत व्यक्तित्व प्राध्यापक कँडेलले राष्ट्रकवि घिमिरे आफ्नो काव्य गुरु भएको बताउनुभयो । उहाँले राष्ट्रकवि घिमिरेको हरेक कवितामा प्राकृतिक वस्तु समेटिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले नेपाली साहित्य क्षेत्रको शिखर व्यक्तित्व राष्ट्रकवि घिमिरे भएको बताउनुभयो । पुरस्कार छनोट समितिका सदस्य प्रा डा लेखप्रसाद निरौलाले निराशालाई आशामा बदल्नका लागि प्रेरणा दिने कवि राष्ट्रकवि घिमिरे भएको बताउनुभयो ।
राष्ट्रकवि घिमिरेको बारेमा हालसम्म एक दर्जनभन्दा बढी व्यक्तिले विद्यावारिधि गरेको उहाँको भनाइ थियो । राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरेले राष्ट्रकवि घिमिरेको साहित्यिक यात्रालाई नयाँ पुस्तामा लैजान आवश्यक रहेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले राष्ट्रकविको साहित्यिक योगदानलाई आजीवन राख्नका लागि मस्र्याङ्दी प्रतिष्ठान लागिरहेको उल्लेख गर्नुभयो । राष्ट्रकवि घिमिरे प्रतिष्ठानको प्रमुख संरक्षक हुनुहुन्थ्यो ।
पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष न्यौपानेसहित विज्ञको तर्फबाट प्राडा लेखप्रसाद निरौला र राष्ट्रकविको परिवारको तर्फबाट प्रा डा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्