मन्त्री घिसिङद्वारा विस्तारित अरनिको राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

काभ्रेपलाञ्चोक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले अरनिको राजमार्गअन्तर्गत दुई सडक खण्डको आज अवलोकन गर्नुभएको छ ।
विस्तारित दुई खण्ड सूर्यविनायक–धुलिखेल तथा धुलिखेल–खावा सडक खण्डको अनुगमन गरी चाडपर्वमा यात्रा सहज बनाउन उहाँले निर्देशन दिनुभएको हो ।
मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरी चाडपर्वलाई ख्याल गर्दै आवागमनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो । “सडकमा खाल्डाखुल्डी पुरेर भए पनि यात्रा सहज बनाउन निर्देशन दिनुभएको छ । हामी सोहीअनुसार तयारी गर्दैछौँ”, मन्त्री घिसिङको भनाइ उद्धृत गर्दै सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भन्नुभयो ।
उहाँका अनुसार विस्तारित अरनिको राजर्मागका राजमार्गको क्षतिग्रस्त सडकमा खाल्डाखुल्डी पुरेर यात्रा सहज गराउन हाल आवश्यक जनशक्तिसहित उपकरण प्रयोग गरिएको छ । घिसिङले चालु आर्थिक वर्षभित्र सडक बिस्तार कार्य सम्पन्न गर्न र त्यसका लागि बजेट अभाव हुन नदिन मन्त्रालयले पहल गर्ने बताउनुभएको थियो ।
यसैबीच वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक खण्डमा स्तरोन्नतिको काम भदौदेखि पुनः सुरु गरिएको छ । बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा कालोपत्र गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ । सडक कालोपत्र गर्नका लागि ‘सिटिबी’को काम भइरहेको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको हो ।
जनागालबाट भैँसेपाटीहुँदै साँगातर्फ ‘सिटिबी’को काम सुरु भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिनुभयो । यसअघि असार र साउन महिनामा मनसुनका कारण बिस्तार कार्य रोकिएको उहाँले बताउनुभयो ।
बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ । उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध गरेपछि बिस्तार कार्य रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५÷७५ फिट ९१५० फिट०मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गरिरहेका छन् । अवरोध हटाउन प्रयास गरिए पनि समस्या सुल्झेको छैन ।
हाल बनेपाको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माण कार्य भइरहेको छ । पुलबजार बाहेक सूर्यविनायकदेखि धुलिखेलसम्मका अन्य स्थानमा भने छोटो खण्ड–खण्डमा काम भइरहेको खनालले बताउनुभयो । उहाँका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा पर्खाल, ड्रेन, पेवमेन्टको काम सकिएको छ भने केही दिनमै सडक कालोपत्रका लागि तयारी भइरहेको छ । धुलिखेलको २८ किलो भन्ने स्थानमा एक घर हटाउन तथा केही स्थानमा विद्युत्को हाइटेन्सन लाइनका पोल सार्न बाँकी रहेको जनाइएको छ ।
विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडक खण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भई बिस्तारको काम भइरहेको छ । हाल दुई खण्डमध्ये सूर्यबिनायक–साँगा खण्डको ३७ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिनुभयो । साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको र समय सीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने उहाँले बताउनुभयो ।
उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडक खण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडक खण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि चार लेनमा सडक बिस्तार थालिएको हो ।








प्रतिक्रिया राख्नुहोस्