चालु आवको दुई महिनामै बाँकेबाट आठ करोड बराबरको जडीबुटी निर्यात

बाँके । नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो दुई महिनामै उल्लेख्य परिमाणमा जडीबुटी निर्यात भएको छ।
भन्सार कार्यालयका अनुसार साउन र भदौ महिनामा मात्रै तीन लाख ३० हजार छ किलो जडीबुटी निर्यात गरिएको छ।
चालु आवमा करिब आठ करोड रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा भने पाँच करोड रुपैयाँ बराबरको दुई लाख ९६ हजार किलो जडीबुटी मात्र निर्यात भएको थियो। यस वर्षको निर्यात अघिल्लो वर्षको तुलनामा ५१ प्रतिशतले बढेको उहाँले बताउनुभयो।
निर्यात वृद्धि भएपछि जडीबुटी व्यवसायसँग संलग्न किसान र व्यापारी दुवै उत्साहित बनेका छन्। भन्सार कार्यालयका अनुसार जडीबुटीसँगै खयर कत्था, एसेन्सियल आयल, अदुवा सुठो, खयर कच्छ, पिना र टायलको समेत निर्यात उल्लेख्य मात्रामा बढेको छ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क प्रसाद शर्माले चालु आवको सुरुमै भारतलगायतका मुलुकबाट जडीबुटीको माग बढेकाले निर्यात वृद्धिमा सहयोग पुगेको बताउनुभयो। उहाँले यस्तै माग निरन्तर रह्यो भने यस वर्षको कुल निर्यात अघिल्ला वर्षभन्दा धेरै हुने अनुमान गरिएको समेत बताउनुभयो।
जडीबुटी उत्पादनमा प्रचुर सम्भावना भएको पश्चिम नेपालका किसानका लागि यो सकारात्मक सङ्केत भएको बताउँदै सङ्घले निर्यात वृद्धि निरन्तर कायम रह्यो भने यस क्षेत्रको आर्थिक स्तरमा ठुलो सुधार हुने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया राख्नुहोस्