बाजुरामा राँगा जुधाइ मार्फत दसैँको स्वागत एवं प्रारम्भ
बाजुरा । बाजुरामा यस वर्ष पनि परम्परागत रीतिअनुसार राँगा जुधाइ गरी दसैँको स्वागत गरिएको छ ।
जिल्लाका विभिन्न ठाउँमा राँगा जुधाउने चलनलाई दसैँको प्रारम्भसँग जोडेर उत्सवका रूपमा मनाइने गरिएको छ । सदरमुकाम मार्तडी नजिकै रहेको बाउली, खप्तड छेडेदह गाउँपालिकाको आटिचौर, बुढिनन्दा नगरपालिकाको कोल्टी लगायतका क्षेत्रमा हरेक वर्षझैँ यसपालि पनि राँगा जुधाउने परम्परालाई निरन्तरता दिइएको हो । स्थानीयको ठूलो सहभागिता रहेको राँगा जुधाइ केवल मनोरञ्जन मात्र नभई साहस, संस्कार र ऐक्यबद्धताको प्रतीकका रूपमा लिइन्छ । दशैं सुरु भएसँगै गाउँ–गाउँमा मेलाजात्रा जस्तै माहोल सिर्जना भएको छ ।

यससँगै जिल्लाभरका नवदुर्गा भवानीका मन्दिरहरूमा आजदेखि ९ दिनसम्म बाजा बजाउँदै नवरात्र बस्ने परम्परा पनि बिधिवत रुपमा शुरु भएको छ । देवीको आराधना, पूजा–पाठ र धार्मिक अनुष्ठानसँगै स्थानीयले दसैँलाई आस्था, श्रद्धा र उत्सवको रुपमा मनाउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्