तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक संरचनाहरूमा पुगेको क्षतिको आकलन तथा लेखाजोखा गर्न समिति गठन

काठमाडौँ । यही २०८२ भदौ २३ र २४ गते सार्वजनिक तथा निजी भौतिक संरचनाहरूमा पुगेको क्षतिको आकलन तथा लेखाजोखा गर्ने सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बैठक सम्पन्न भएको छ।

बैठकले  क्षति आकलनका लागि मानक प्रारूप (standard format) तयार गर्न, क्षतिको विवरण सङ्कलनका लागि उपयुक्त र द्रुत माध्यमको निर्क्योल गर्न प्राधिकरणका प्राविधिक सहसचिव ई. अमृत श्रेष्ठको संयोजकत्वमा एक प्राविधिक समिति गठन गरेको छ। 

समितिमा राष्ट्रिय योजना आयोग, शहरी विकास तथा भवन निर्माण विभाग, पुरात्व विभागका प्रतिनिधि सदस्य रहनेछन्। त्यसैगरी, नेपाल इन्जिनियर्स एसोसिएसन, स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, सोसाइटी अफ मेकानिकल इञ्जिनियर्स नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपालका एक/एक जना प्रतिनिधिहरू रहेका छन्। 

बैठकले क्षति भएका सरकारी र निजी भवनहरूमा प्रवेश गर्दा वा पुनः प्रयोग गर्दा थप मानवीय क्षति हुनसक्ने भएकोले प्राविधिक परीक्षण गरी/गराई सुरक्षित भएको सुनिश्चित भएमा मात्र प्रयोगमा ल्याउन सरोकारवालामा अनुरोध गर्ने निर्णय गरेको छ।

गत भदौ ३१ गतेको सचिव बैठकले क्षतिग्रस्त संरचनाहरूको Post Disaster Need Assessment (PDNA) को कार्य राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउने निर्णय गरेको थियो ।

प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारी, पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग लगायतको उपस्थिति थियो । 

त्यसैगरी, बैठकमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख संजय उप्रेती, थापाथली क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद न्यौपाने, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासङ्घ र प्राविधिक समितिमा रहेका संघ/संस्थाका पदाधिकारी तथा प्रतिनिधिस्तरबाट समेत सहभागिता थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button