जेनजी प्रदर्शनका क्रममा कांग्रेसका केन्द्रीय कार्यालयसहित ४८ जिल्ला कार्यालयमा क्षति
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ ।
प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरूका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको काँग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरूको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण काँग्रेसले सार्वजनिक गरेको हो ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनकारीले केन्द्रीय कार्यालय जलाएर ध्वस्त पारेको र कुनै पनि सामान नबचेको तथा करिब रु १० करोड बराबरको क्षति भएको छ ।
यसैगरी काँग्रेसले आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै पार्टीले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ । काँग्रेसले यस्तो जटिल मोडमा आवेग र उत्तेजना होइन विवेक, संयम र धैर्यताले काम गर्न सबै नेता तथा कार्यकर्तामा अनुरोध गरेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्