पोखरामा असोज ९ गतेदेखि पुनः हट एयर बेलुन उडान हुने

पोखरा । पर्यटकीय राजधानी पोखरामा साहसिक खेल हट एयर बेलुन यही असोज ९ गते अर्थात् सेप्टेम्बर २५ तारिखबाट पुनः सुरु हुने भएको छ ।
बर्षादको मौसममा केही समय स्थगित भएको उक्त खेल पर्यटनको सिजन सुरु भएसँगै बिहीबार देखि सुरु हुने भएको बलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताउनु भयो ।
करिब ९ हजार फिट उचाइमा उड्ने बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण सहितका हिमशृङ्खलाको मनोरम दृश्य सँगै फेवाताल, पोखरा बजार, पुम्दिकोट विशाल महादेवको मूर्ति, विश्व शान्ति स्तुपा सराङकोट लगायतको दृश्य ३६० डिग्री मनोरम दृश्य नजिकैबाट अवलोकन गर्न सक्नु हुनेछ ।
स्वदेशी तथा विदेशी पर्यटक रुका लागि अग्रिम बुकिङ खुला गरिएको छ । उडान बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा हुनेछ । पामेबाट सुरु भएर इन्द्रपुर लेकसम्मको करिब ४ किलोमिटर दूरीमा आधा घण्टादेखि ४० मिनेटसम्म उडान हुने भएको छ ।
प्रति नेपालीका लागि ११ हजार, सार्क मुलुक र चिनियाँ पर्यटकका लागि १२० अमेरिकी डलर र अन्य देशका लागि भने १५० अमेरिकी डलर शुल्क लिने भएको बलुन नेपालले जनाएको छ । यस प्याकेजमा पोखराको लेकसाइडबाट पिकअप, ड्रप, उडान, फोटो र भिडियो सेवा सहितको सुविधा उपलब्ध हुने भएको छ ।
यसैबिच, जेनजी आन्दोलनको क्रममा पोखराको लेकसाइडमा रहेको बलुन नेपालको कार्यालयमा तोडफोड तथा चोरी हुँदा करिब ३० लाख मूल्य बराबरको क्षति भएको अध्यक्ष बाडेले जनाउनु भयो । यसअघि पोखरामा भएको नेपालकै पहिलो अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभलले नेपाललाई विश्व पर्यटन नक्सामा फरक पहिचान दिलाएको थियो, जसको कभरेज सीएनएन, बिबिसीदेखि वर्ल्ड स्ट्रिट जर्नीजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्