तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा जीवनजल अभाव: सेवाग्राही महँगो मूल्य तिरेर खरिद गर्न बाध्य

बाजुरा । जिल्ला अस्पताल बाजुरामा करिब एक सातादेखि जीवनजल अभाव भएको छ।

जीवनजल अभाव पश्चात् अस्पतालमा सेवा लिन आउने बिरामीहरू स्थानीय मेडिकलबाट महँगो मूल्य तिरेर जीवनजल खरिद गर्न बाध्य भएका छन्। बडिमालिका नगरपालिका–५ का सेवाग्राही खेमराज साउदले अस्पतालमा जीवनजल अभाव भएपछि दुई पटक बजारबाट खरिद गरेर प्रयोग गरेको बताउनुभयो। सरकारले अनिवार्य उपलब्ध गराउनुपर्ने औषधिभित्र पर्ने जीवनजल समेतको अभाव देखियो। समयमै आपूर्ति नभएकाले मेडिकलमा महँगोमा किन्नुपरेको छ, उहाँले गुनासो गर्नुभयो।

अस्पतालका सूचना अधिकारी नृप गिरीका अनुसार मौज्दात रहेको सबै जीवनजल सकिएकाले नयाँ खरिद प्रक्रिया अन्तर्गत टेण्डर भइसकेकाले करिब एक महिना भित्र अस्पतालमा जीवनजल आइपुग्ने बताउनुभयो। टेण्डर प्रक्रियामा समय लाग्ने भएकाले तुरुन्त उपलब्ध गराउन भने नसकिने,उहाँको भनाइ छ।

अस्पतालमा जीवनजल अभाव भएपछि स्वास्थ्य कार्यालय बाजुराले आपतकालीन रूपमा एक सय पाकेट उपलब्ध गराएको थियो। तर दुई दिनमै बिरामीलाई वितरण गरिसकिएको अस्पतालले जनाएको छ। जीवनजलमा पोटासियम, सोडियमलगायतका आवश्यक तत्त्व हुने भएकाले झाडापखाला, डेंगु, मलेरिया लगायतका बिरामीले अनिवार्य सेवन गर्नुपर्ने हुन्छ। तर अस्पतालमा अभाव देखिएपछि बिरामीले बाहिरै मेडिकलमा खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। अस्पतालमा मौसमी बिरामीहरूको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएपछि जीवनजलको माग समेत बढेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button