वीरगञ्जको गहवामाई मन्दिरमा दशैँको रौनक

वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक शक्तिपीठ गहवामाई मन्दिरमा भोलिदेखि सुरु हुने बडादशैँका लागि भव्य तयारी पूरा भएको छ । मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ र घटस्थापनासँगै दर्शनार्थीको ठूलो भीड लाग्ने अनुमान गरिएको छ ।
माइस्थान सञ्चालक समितिले दर्शनार्थीको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै विशेष व्यवस्था गरेको छ । भीड व्यवस्थापनका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरू खटाइएको छ। सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन ड्रोनमार्फत पनि निगरानी गर्ने तयारी गरिएको छ ।
सुरक्षा र व्यवस्थापनमा सहजता ल्याउन मन्दिर परिसरभित्र मोबाइल फोनको प्रयोग, टिकटक बनाउने, तस्बिर र भिडियो खिच्न पूर्ण प्रतिबन्ध लगाइएको छ । समितिका अध्यक्ष नरेन्द्र साहले दर्शनार्थीहरूलाई महँगा गरगहना नलगाउन, बालबालिकाको विशेष ख्याल राख्न र कुनै समस्या परेमा समितिमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
दसैँको अवसरमा गहवामाई मन्दिरमा लाग्ने मेलामा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन लगायत नेपालका विभिन्न जिल्ला र भारतको बिहार तथा उत्तर प्रदेशबाट समेत भक्तजनहरू आउने गर्छन् । विशेषगरी फूलपातीदेखि नवमीसम्म मेला निकै रमाइलो हुने गर्छ । परम्परा अनुसार अष्टमीको दिन परेवा, खसी र बोकाको बलि दिने चलन रहेको छ ।
इतिहासकारहरूका अनुसार, यो मन्दिरमा सयौँ वर्षदेखि बडादसैँको अवसरमा मेला लाग्दै आएको छ, जसले यस क्षेत्रको सांस्कृतिक महत्वलाई झल्काउँछ ।








प्रतिक्रिया राख्नुहोस्