वीरगन्जमा फेरी हैजा संक्रमित बढ्न थाले,आम सर्वसाधारण चिन्तित
वीरगञ्ज । वीरगन्जमा नियन्त्रण उन्मुख देखिएको हैजा संक्रमण पछिल्ला दिनमा फेरि बढ्न थालेसँगै सर्वसाधारणमा चिन्ता छाएको छ ।
गत भदौ ६ गते देखि वीरगन्ज लगायत आसपासको क्षेत्रमा फैलिएको हैजा संक्रमण भदौको तेस्रो साता देखि नियन्त्रण उन्मुख भएपनि पछिल्लो समय लगातारको बर्षापछि पुनः हैजा संक्रमण बढ्न थालेको छ ।
वीरगञ्ज महानगरपालिकाले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार महानगरमा मात्रै सङ्क्रमितको सङ्ख्या २ सय २४ पुगेको छ भने पोखरिया अस्पतालमा १८ जना थपिएर जिल्लाभर २ सय ४२ पुगेको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार पछिल्ला तीन/चार दिनयता दैनिक २०/२२ बिरामी आउँदा, हैजा पुष्टि हुने क्रम बढिरहेको छ । उहाँले दूषित पानीकै कारण संक्रमण पुनः दोहोरिएको बताउनुभयो।
हालसम्म वीरगञ्ज र पोखरियामा १ हजार ४ सय ६१ झाडापखालाका बिरामी भर्ना भएका मध्ये १ हजार ४ सय ३१ निको भएर घर फर्किएका छन् भने ३० जना अझै उपचाररत रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता जयमोद ठाकुरले स्थानीयले सावधानी नअपनाएसम्म संक्रमण नियन्त्रणमा आउन नसक्ने भन्दै पानी उमालेर मात्र सेवन गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्