तपाईँ सुन्दै हुनुहुन्छः

चुनढुङ्गा खानीले राजमार्गमा क्षति

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा सञ्चालित चुनढुङ्गा खानीले सिद्धार्थ राजमार्गमा क्षति पुगेको छ । सडक माथि रहेको डोलोमाइट चुनढुङ्गा खानीबाट निस्केको माटो सहितको चुनढुङ्गाले राजमार्गमा क्षति पुगेको हो । बर्षाको समयमा भेलसहित बग्ने लेदोले पटक पटक राजमार्ग समेत अवरुद्ध हुने गरेको छ । 

विगत चार वर्षदेखि खानीजन्य उत्खनन र निकासीका कारण यस क्षेत्रको सडकमा क्षति हुँदै आएको छ । वर्षाको भेलसँगै खानीबाट डम्पिङ गर्नुपर्ने गेग्रेटो सडकमा झर्दा राजमार्ग भासिने क्रम बढेको छ । तिनाउ गाउँपालिकाको कल्याणी आधारभूत विद्यालय क्षेत्रमा सडकमा चुनढुङ्गाको गेग्रेटो थुप्रिँदा सडकमा क्षति पुगेको हो । उक्त क्षेत्रमा चुनढुङ्गा खानीकै कारण सडक बिग्रिदा सरकारले २ करोड रुपैयाँभन्दा बढीको सडक मर्मतमै खर्चिनु परेको छ । 

करिब तीन वर्षअघि, यही खानीकै कारण हिउँदे खोला नजिकको राजमार्ग भासिएको थियो । सो घटनामा सडक छेउको घरभित्र खानीजन्य बस्तु पसेर दुई जनाको ज्यान गएको थियो । त्यही ठाउँमा अहिले पनि सामान्य वर्षात हुँदा खानीबाट बग्ने सामग्रीले राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुने समस्या यथावत् छ ।

तिनाउ गाउँपालिका–४ मस्याममा सञ्चालनमा रहेको चुनढुङ्गा खानीबाट उत्खनन हुँदा निस्कने वस्तुको व्यवस्थापन खानी सञ्चालकले नै गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, खानी सञ्चालकले लापरवाही गरिरहेको स्थानीयवासी बताउँछन् । यसको प्रत्यक्ष असर सिद्धार्थ राजमार्गमा परिरहेको छ । खानीले कानुनले तोकेको क्षेत्रभन्दा बाहिर उत्खनन गरेपछि खानी तथा भूगर्भ विभागले सर्वोच्च अदालतमा क्षतिपूर्तिको माग गर्दै रिट दायर गरिसकेको विभागले जनाएको छ । चुरे र महाभारत पर्वतको सीमामा अवस्थित यस खानीबाट निकालिएका बस्तुहरू खानी क्षेत्र भित्रमै व्यवस्थापन गर्नुपर्ने भए पनि खानी सञ्चालकले ती राजमार्ग क्षेत्रमै फाल्ने गरेका छन्। वर्षाको समयमा पानीको भेलले यी बस्तु राजमार्गमा बगाउँदा सडक जाम हुने,घर पुरिने, र मानवीय क्षति समेत हुने गरेको छ ।

स्थानीय सरकार, प्रशासन, जिल्ला समन्वय समिति, र डिभिजन वन कार्यालय जस्ता नियमन गर्ने निकाय सक्रिय नभएका कारण समस्या जटिल बन्दै गएको स्थानीय दिपक आचार्यले बताउनुभयो । संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्नु, प्रदेश तहमा खानी विभागको कार्यालय स्थापना नहुनु, र जिल्ला समन्वय समितिलाई कानुनी अधिकार नहुनु समस्याको रुपमा रहेको जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्कनाथ खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button