संयुक्त राष्ट्रसङ्घ बहसअघि बेलायत र पोर्चुगलद्वारा प्यालेस्टाइनलाई मान्यता
लन्डन । संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे हुने प्रमुख बहसको एक हप्ताअघि बेलायत र पोर्चुगलले आइतबार प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्ने भएका छन् ।
सन् २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामाथि तीव्र आक्रमण चलाएको थियो । यसका कारण लामो समयदेखि इजरायलका सहयोगी रहँदै आएका धेरै राष्ट्रहरू हालै आफ्ना नीतिमा परिवर्तन गर्न बाध्य भएका छन् । घेराबन्दीमा परेको गाजाले ठूलो विनाश, मृत्यु र खानाको अभावका कारण गम्भीर मानवीय सङ्कट भोगिरहेको छ ।
यसैबीच, विश्व नेताहरू यो हप्ता न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको बहसमा सहभागी हुनेछन् । बहसमा दुई–राज्य समाधान मुख्य एजेन्डा हुनेछ । करिब १० राष्ट्रले निकट भविष्यमा प्यालेस्टाइनलाई मान्यता दिने अपेक्षा गरिएको छ । बेलायती मिडियाले प्रधानमन्त्री किर स्टार्मरले आइतबार नीति परिवर्तनको घोषणा गर्ने जनाउनुभएको छ । यद्यपि यसबारे इजरायलले कडा आपत्ति जनाएको छ ।
स्टार्मरले जुलाईमै यदि संयुक्त राष्ट्र महासभा सुरु हुनुअघि इजरायलले हमाससँग युद्धविरामतर्फ ठोस कदम नचाले बेलायतले प्यालेस्टाइनलाई मान्यता दिनेछ भन्दै चेतावनी दिनुभएको थियो । उहाँले यो कदमले ‘दुई–राज्य समाधानका लागि अधिकतम प्रभाव पार्ने उचित क्षणमा शान्ति प्रक्रियामा योगदान पुर्याउने ’ बताउनुभएको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उहाँलाई ‘राक्षसी आतङ्कवादलाई पुरस्कृत गर्ने’ आरोप लगाउनुभएको थियो ।
पोर्चुगलको विदेश मन्त्रालयले पनि आइतबारै मान्यता दिने घोषणा गर्ने जनाएको छ । लिस्बनले यसअघि नै गाजाको मानवीय सङ्कट र इजरायलको कब्जा गर्ने धम्कीलाई कारण देखाउँदै आफ्नो अभिप्राय सार्वजनिक गरेको थियो ।
यसबीच, इजरायलले गाजामा बमबारी जारी राखेको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित भोक निगरानीकर्ताले क्षेत्रका केही भागमा अनिकाल घोषणा गरेका छन् । इजरायली सेनाले गाजा सहर कब्जा गर्न ‘अभूतपूर्व बल’ प्रयोग गर्ने चेतावनी दिएको छ ।
फ्रान्स र क्यानाडा पनि आगामी संयुक्त राष्ट्र बैठकमा प्यालेस्टाइनलाई मान्यता दिने तयारीमा रहेका छन् । तर इजरायलले यस कदमको कडा विरोध गर्दै पश्चिम किनारलाई विलय गर्ने धम्की दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भन्नुभयो, “विश्वले इजरायलको प्रतिशोधको जोखिमबाट डराउनुपर्ने छैन ।”
आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय १९ जना मारिएका थिए ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणमा हालसम्म कम्तीमा ६५ हजार दुई सय आठ जनाको मृत्यु भएको छ, जसमा अधिकांश सर्वसाधारण रहेका छन् । रासस/एएफपी
प्रतिक्रिया राख्नुहोस्