तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्व मनाउन स्वदेश फर्किने प्रवासी नेपाली मजदुरहरूको सीमा नाकामा चाप

कञ्चनपुर । अहिले नेपाल भारत सीमा नाकाहरूमा चाडपर्व मनाउन स्वदेश फर्किने प्रवासी नेपाली मजदुरहरूको चाप बढेको छ । भारतमा पसिना बगाएर कमाइ गर्ने लाखौँ नागरिक खेतीपाती तथा नवरात्रा, दशैँ र तिहार जस्ता पर्व मनाउन घर फर्कँदा सीमामा भीड मात्र बढेको छैन, ठगी र लुटपाटको जोखिम पनि बढेको छ ।

नेपाल भारत सीमा नाकाहरूमा चाडपर्व मनाउन स्वदेश फर्किने प्रवासी नेपाली मजदुरहरूको चाप दिनप्रतिदिन बढ्दै गएको छ । भारतमा पसिना बगाएर रोटीरोजी कमाउने लाखौँ नेपाली नागरिक बर्खे खेती भित्र्याउने बेला र नवरात्रा, दशैँ, तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा घर फर्किन थालेका हुन् ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका लाखौँ नागरिक वर्षौँदेखि भारतीय रोजगारीमा आश्रित छन् । मौसमी कामसँगै खेतीपातीका समयमा घर फर्कने, बाँकी समयमा भारत पस्ने बाध्यता यहाँका धेरैको नियति बनेको छ । कमाइ लिएर फर्कँदा कोही उत्साहित हुन्छन्, त कोही भावुक । तर सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुको पीडा भने अझै कम भएको छैन ।

दैनिक हजारौँ नागरिक फर्किने भएकाले सुरक्षा निकाय उच्च सतर्कतामा छन् । प्रशासनले पहेँलो नम्बर प्लेट भएका भारतीय गाडीलाई नेपाली बजारमा प्रवेश रोक लगाएको छ । त्यसैबीच यात्रुहरू ठगिने, लुटिने जोखिम न्यूनीकरणका लागि सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

सुरक्षा सतर्कताकाबीच फर्किएका मजदुरले गाउँबस्तीमा चहलपहल थप्ने अपेक्षा गरिए पनि दीर्घकालीन समाधान भने स्वदेशमै रोजगारीका अवसर सिर्जना गरेर मात्र सम्भव देखिन्छ । नेपालमै पर्याप्त रोजगारी भए न भारतीय रोजगारीको कष्ट सहनुपर्ने थियो, न हेपाइ नै । त्यस्तो अवस्था आयो भने चाडपर्वको बेला मात्रै होइन, गाउँघरमा वर्षैभरी नै चहलपहल र खुसीयाली कायम रहने थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button