कृष्णपुर नगरपालिकाद्वारा आंशिक सेवा
कञ्चनपुर। जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण क्षति व्यहोरेको कृष्णपुर नगरपालिकाको कार्यालय अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । कार्यालय भवनमा क्षति पुगेपछि अहिले केही शाखामात्र अस्थायी रूपमा सञ्चालनमा आएका छन् ।
नगरप्रमुख हेमराज ओझाका अनुसार आगलागी हुनबाट जोगिएका कागजातका आधारमा काम अगाडि बढाइएको छ । स्थानीय युवा क्लब र कार्यालयका कर्मचारीको सहयोगमा सरसफाइ गरी सुरक्षित रहेका कोठा, खाजाघर र हल प्रयोगमा ल्याइएको छ । उहाँले भन्नुभयो, “भवनमा ठाउँ अपुग भएपछि वनदेवी आधारभूत विद्यालयका खाली कोठामा केही शाखा सार्ने तयारी भइरहेको छ ।”
कार्यालयका सबै शाखा सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने जनाउँदै उहाँले आवश्यक उपकरण र सामग्री अभाव ठूलो चुनौती भएको जानकारी दिनुभयो । स्टेशनरीदेखि लिएर कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, मोटरसाइकल, स्कुटर, दराज, नक्सा, स्वास्थ्य सामग्री, फ्रिज, एसी, फर्निचरसहित अधिकांश कागजपत्रलगायत सामग्री जलेर नष्ट भएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टका अनुसार क्षतिको प्रारम्भिक विवरणअनुसार आगलागीले रु दुई करोडभन्दा बढीको क्षति पुगेको छ । भवनको भौतिक क्षतिबारे प्राविधिक विवरण तयार गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । वडा कार्यालयमा भएको क्षतिको विवरण सङ्कलनकै क्रममा रहेको छ ।
यद्यपि, सामुदायिक वन, सहकारी संस्था र वित्तीय संस्थाले सहयोगस्वरूप प्रिन्टर, कम्प्युटर र प्लास्टिकका कुर्सी नगरपालिकालाई सहयोग गरेका छन् । नगरपालिकाले नगद सहयोग नलिने निर्णय गर्दै जिन्सी सामग्रीमात्र स्वीकार गर्ने नीति बनाएको छ । नगरप्रमुख ओझाले भन्नुभयो, “सहयोगी संस्थाबाट प्राप्त थोरै सामग्रीकै आधारमा कार्यालय सञ्चालन गर्न थालेका छौँ, केही दिनमै सबै शाखा सञ्चालनमा ल्याउने तयारी छ ।”
आगलागी र तोडफोडमा संलग्नलाई कारबाही गर्नेबारे सर्वदलीय, सर्वपक्षीय तथा कार्यपालिकाको छुट्टाछुट्टै रूपमा बसेको बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् । हालसम्म लुटपाट गरिएको सामग्रीमध्ये एक थान कम्प्युटर मोनिटर र एक थान क्यामेरामात्र फिर्ता भएको नगरपालिकाले जनाएको छ । यसैबीच, वडा कार्यालयमार्फत भने सेवाग्राहीलाई सेवा दिने कार्य सुरु गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्