तयार भयो वीरगञ्जको घण्टाघर
वीरगञ्ज (पर्सा)। पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो ।
वीरगञ्ज महानगरले घण्टाघरको भत्किएको संरचना मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ । वीरगञ्ज महानगर भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगञ्जको प्रतीक घण्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घण्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न गर्न सकिने अवस्था थिएन । ऐतिहासिक धरोहर भएकाले पनि म्यानुअल ढङ्गले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो । अहिले घण्टाघरको लगभग सबै संरचना निर्माणको काम सकिएको छ ।”
महाशाखा प्रमुख झाले घण्टाघर वरपर अत्याधिक सवारीसाधनको चाप बढी हुने भएकाले सवारीसाधन र यात्रुको सुरक्षालाई ध्यान दिँदै कन्ट्रक्सन नेटअर्थात् झालीले ढाकेर मर्मतसम्भार गरिएको बताउनुभयो । “अहिले घण्टाघरको वरपर लगाइएको स्काफोल्डिङ र कन्स्ट्रक्सन जाली समेत हटाइसकेका छौँ”, उहाँले भन्नुभयो, “मर्मतसम्भारपछि घण्टाघर कम्तीमा पनि १० वर्षसम्मका लागि टिकाउ हुने विश्वास गरेका छौँ । यद्यपि घण्टाघरभित्रका संरचना भने पुरानो हुँदै पनि गइरहेका छन् ।”
महाशाखा प्रमुख झाले घण्टाघर निर्माण करिब २० लाखभन्दा कममा हुने आकलन गरेको बताउनुभयो । “अहिलेसम्म त बिल तयार भइसकेको छैन”, उहाँले भन्नुभयो, “सो अनुमानित लागतभन्दा कममा नै होला भन्ने विश्वास लिएका छौँ ।” घण्टाघर निर्माणको ठेक्का भने महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो । वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षणको रूपमा घण्टाघर रहँदै आइरहेको छ ।
महाशाखा प्रमुख झाले घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति गरेको जानकारी दिनुभयो । “घण्टाघरको मर्मतसम्भार माथिल्लो बाल्कोनीमा पुगेर गर्नुपर्ने भएकाले पनि केही समय बढी लागेको हो”, उहाँले भन्नुभयो, “हामीले मर्मतसम्भार गरेर घण्टाघर पुरानै संरचनामा ल्याइसकेका छौँ ।”
वीरगञ्जको घण्टाघर सन् १९७९ फेब्रुअरी ८ तारिखमा तयार भएको बताइन्छ । त्यो बेला जापानको योनागो सहरका विद्यार्थीको एकदिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकहरूको कथन छ ।
प्रतिक्रिया राख्नुहोस्