नरभक्षी बाघ नियन्त्रणमा
वीरगञ्ज । बाराको जीतपुरसिमरा क्षेत्रमा तीन महिनाको अवधिमा ३ जनाको ज्यान लिने नरभक्षी बाघलाई अन्ततः आज बिहान नियन्त्रणमा लिइएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको आधाभार जङ्गलबाट उक्त बाघलाई डार्ट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएल को विज्ञ टोली, स्थानीय जनप्रतिनिधि तथा प्रहरीको संयुक्त प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो । पथलैया–अमलेखगन्ज सडकखण्ड नजिक बाघ देखिएको सूचना पाएपछि टोली हात्ती लिएर घटनास्थल पुगेको थियो ।
जीतपुरसिमरा उपमाहानगरपालीका–२१ का वडाध्यक्ष सुवास श्रेष्ठका अनुसार डार्टिङपछि बाघलाई बेहोस बनाई निकुञ्जको कार्यालयस्थित खोरमा राखिएको छ ।

नरभक्षी बाघको आक्रमणबाट असारमा जीतपुरसिमरा–१ का ५५ वर्षीय छेवाङ्ग लामा, भदौमा वडा नं २२ का ६० वर्षीय कृष्णप्रसाद शर्मा र वडा नं २१ का ४५ वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको थियो ।
मानव बस्ती नजिकै बारम्बार देखापर्दै आक्रमण गरेपछि स्थानीयवासीको त्रास फैलिएको थियो । बाघ नियन्त्रणमा आएपछि स्थानीयले ठूलो राहत महसुस गरेका छन् ।
यद्यपि, पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जङ्गल क्षेत्र नजिक जाने बेला उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्