तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र प्रभावकारी कार्यान्वयन नै देशमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मूल आधार हुने बताउनुभएको छ । 

संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पोखरामा आयोजना गरेको मुख्य समारोहलाई सम्बोधन गर्दै उहाँले सबै पक्षले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले भन्नुभयो, “संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुन्छ । यस यात्रामा गण्डकी प्रदेश सरकार संघीय सरकार र स्थानीय तहबीच समन्वय गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण, भौतिक संरचनाको पुनर्निर्माण तथा जनताको जीवनसँग प्रत्यक्ष सम्बन्धित सेवा विस्तारतर्फ निरन्तर अघि बढ्नेछ।”

मुख्यमन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र मुलुकलाई आर्थिक विकासको मार्गमा अगाडि लैजानु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । संविधानको भावनालाई जनताको जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्न प्रदेश सरकार कटिबद्ध रहेको उहाँले जनाउनु भयो । 

भदौ २३ र २४ गते देशभर भएका आन्दोलनमा जनजी पुस्ताको आकाङ्क्षा र परिवर्तनको चाहना प्रकट भएको बताउँदै उहाँले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवापुस्ता र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै न्यायपूर्ण छानबिन र दोषीमाथि कारबाही गरी पीडितलाई न्याय सुनिश्चित गर्न प्रदेश सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो।

उहाँले जेन–जी पुस्ताले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूतजस्ता मागहरू साझा लक्ष्य भएको बताउनुभयो। तर पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरि प्राप्त उपलब्धिमाथि प्रहार गर्ने, पूर्वाधार ध्वंस पार्ने र नकारात्मक सोच फैलाउने प्रवृत्तिप्रति सचेत रहँदै सकारात्मक सोचसहित अघि बढ्न विशेषत युवापुस्तालाई आग्रह गर्नुभयो ।

प्रदेश सरकारले सुशासन र पारदर्शिता कायम गर्न राइड शेयरिङमार्फत युवाका लागि रोजगारी सिर्जना, चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी कटौतीलगायत सुधारात्मक पहल गरिरहेको बताउँदै उहाँले यस्ता कामले युवाको विश्वास जित्नुका साथै प्रदेशको समुन्नतिको आधारशिला राख्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरि आन्तरिक तथा बाह्य पर्यटकसँगै लगानी भित्र्याउने सरकारको दीर्घकालीन योजनामा पछिल्ला हिंसात्मक घटनाले वातावरण धमिल्याएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रमाथि भएका आक्रमणको छानबिन गरि दोषीलाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो। निजी लगानीमा भएको क्षतिप्रति सरकार संवेदनशील रहेको र व्यवसायीहरूलाई उच्च मनोबलसहित अघि बढ्न आग्रह समेत गर्नुभयो ।

“संविधानले अधिकार दिएको मात्र छैन, कर्तव्यबोध पनि देखाएको छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो “संविधानको रक्षा र कार्यान्वयनका लागि सबै राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज, युवापुस्ता र सरोकारवालाको साझा सहयोग अपरिहार्य छ ।”

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि विचलन नआउने गरी निर्वाह गर्नुभएको अभिभावकत्वप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा मुख्यमन्त्री पाण्डेले सबै प्रदेशवासीलाई एकताबद्ध भई संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्दै ‘आत्मनिर्भर र समुन्नत गण्डकी, खुसी प्रदेशवासी’ बनाउने अभियानमा सहकार्य गर्न आग्रह गर्दै संविधान दिवस २०८२ को शुभकामना व्यक्त गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button