तपाईँ सुन्दै हुनुहुन्छः

   गोरखामा स्क्रब टाइफसका बिरामी बढे

गोरखा। जिल्लामा स्क्रब टाइफस रोगको सङ्क्रमण बढ्दै गइरहेको छ ।

गोरखा अस्पताल, आँपपिपल अस्पताल लगायतका जिल्लाका अन्य अस्पताल र स्वास्थ्य संस्थाहरूमा साउनयता परीक्षण गराउन आएका १३९ जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको हो ।

साउन र भदौको दुई महिनामा गोरखा अस्पतालमा मात्रै ५९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । साउन महिनामा २० जना स्क्रब टाइफसका बिरामी देखिएका थिए । भदौ महिनाको हालसम्म ३९ जनामा यो रोग पुष्टि भएको गोरखा अस्पतालले जनाएको छ । यसै गरी जिल्लाका अन्य अस्पताल, स्वास्थ्य चौकी र सङ्घ संस्थामा परीक्षण गराउन आएका ८० जनामा स्क्रब टाइफस देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।

गोरखा अस्पताल बाहेकका स्वास्थ्य संस्थामा साउन महिनामा २९ जनामा स्क्रब टाइफस देखिएको थियो । भदौ महिना सम्ममा बढेर ८० जनामा सङ्क्रमण देखिएको छ । ‘गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने मध्ये दैनिक रूपमा २ देखि ५ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ,’ अस्पतालका डाक्टर विजय शर्माले भन्नुभयो, ‘बर्खाको समय भएर पनि हुनसक्छ, यो समयमा स्क्रब टाइफसका बिरामी बढी मात्रामा देखिने गरेको छ ।’ गोरखा अस्पतालमा भर्ना भएका बिरामी मध्ये ५० प्रतिशत स्क्रब टाइफसका बिरामी रहेको डाक्टर शर्माले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button