बागलुङका किसानलाई आलु भित्राउन भ्याइनभ्याइ
बागलुङ । बागलुङको पश्चिम क्षेत्रका किसान यति बेला आलु भित्राउने चटारोमा रहेका छन् ।
जिल्लाको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्राउन भ्याइनभ्याइ भएको हो ।
आलु उत्पादनका हिसाबले प्रसिद्ध मानिने ढोरपाटन उपत्यका, निसीखोलाको भल्कोट, सिप, लुप्राबाङ, निसेलढोर, गलकोटको पाण्डवखानी, रमुवा लगायतका स्थानका किसान बारीमै भेटिने गरेका छन् ।
हरेक वर्ष बागलुङमा एक अर्ब बढीको आलु उत्पादन हुँदै आएको छ । किसानले चैत महिनामा आलु लगाउने र असोज पहिलो सातासम्म भित्राउने गर्छन् । यति बेला ढोरपाटनका अधिकांश किसान आलु भित्राउनमा व्यस्त रहेको स्थानीय झकेन्द्र सुनारले बताउनुभयो ।
एक साता अगाडिसम्म भारी वर्षा भइरहेको हुँदा बारीमा हिलोका कारण जान नसकेको भन्दै अहिले वर्षा रोकिएपछि किसानहरूले धमाधम आलु भित्राउने काम गरिरहेको उहाँले बताउनुभयो । आफूले ढोरपाटनमा करिब ७० रोपनी जग्गामा आलु लगाएको सुनाउँदै यस वर्ष राम्रो उत्पादन भएको सुनारले सुनाउनुभयो । ढोरपाटन क्षेत्रका किसानले असोज १० गतेसम्म आलु भित्राइसक्ने उहाँले बताउनुभयो ।
निसीखोला गाउँपालिका–६ का स्थानीय कर्णबहादुर घर्तीले निरन्तरको वर्षाले आलु कुहिने जोखिम रहेको बताउनुभयो । आलु भित्राउने समयमा परेको भारी वर्षाले अहिले बल्ल बारीबाट निकाल्न सुरु गरेको उहाँको भनाइ थियो । आलु खेती बढाउनका लागि जिल्लाभर क्षेत्र विस्तार गर्न थालिएको छ ।
बागलुङमा सबै ठाउँमा आलु राम्रो उत्पादन हुने हुँदा कृषि ज्ञान केन्द्रले बर्सेनि लाखौँ लगानी गर्दै आएको छ । आर्थिक वर्ष २०८०/०८१ देखि आलुको क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । उहाँका अनुसार २०८०/०८१ मा दुई करोड ६० लाख, २०८१/०८२ मा एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार क्षेत्र विस्तार भएको छ ।
प्रतिक्रिया राख्नुहोस्