तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँका तामाङलाई नेपाल खुला स्नुकर प्रतियोगिताको उपाधि

पोखरा । काठमाडौँका युवा खेलाडी वाङचु तामाङले पोखरामा मङ्गलवार सम्पन्न भएको दोस्रो संस्करणको नेपाल खुला स्नुकर प्रतियोगिता–२०८२ को उपाधि जित्नुभएको छ । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा आज (मङ्गलवार) वेष्ट अफ इलाभेनमा भएको फाइनल खेलमा तामाङले काठमाडौँकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि जित्नुभयो ।

विजेता तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता शेर्पाले नगद ८० हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा तामाङ र शेर्पाले समान ८१ ब्रेक गरी हाइएस्ट ब्रेकरको उपाधि सहित नगद १०/१० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

विजयी खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, कास्की बिलियार्ड स्नुकर तथा पुल संघका संस्थापक अध्यक्ष वसन्त गौचन, संघका वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खली थापा, कोषाध्यक्ष धीर बहादुर लामा, खेलाडी होम नेपाली, प्रतियोगिताका संयोजक सोम बि.क. लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवर्द्धनमा टेवा पुगेको संघका महासचिव सविन जिसीले बताउनुभयो ।

पोखरा ड्याम साइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नुकर तथा पुल सङ्घको विशेष सहयोगमा पुनः दोस्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौ १७ गतेदेखि सुरु भएको थियो । पोखरा महानगरको प्रवर्द्धनमा सञ्चालन भएको प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागी भएको प्रा.लि.का सञ्चालक प्रताप गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button