तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सभामा ३० करोड बढीको क्षति, बैठक अनिश्चित

oplus_2

जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनको क्रममा मधेश प्रदेश सभा सचिवालयको कार्यालय सहित प्रदेश सभामा भएको तोडफोड तथा आगजनीले ३० देखि ४० करोडको क्षति भएको छ ।

भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारणले मधेश प्रदेश सभाको बैठक कक्ष पूर्ण रुपमा जलेको हो । प्रदेश सभामा रहेका सबै प्रकारका फर्निचर, एसि, सिसिटिभी सहितका सम्पूर्ण उपकरणहरू जलेर नष्ट भएको छ । बैठक कक्षमा रहेको मधेश आन्दोलन तथा जनआन्दोलनका शहिदहरुको तस्बिर पनि जलेको हो ।

यसका साथै भवनमा पनि आंशिक रुपमा क्षति पुगेको छ । यसका साथै विभिन्न दलका संसदीय दलका कार्यालयहरू, प्रशासन, स्टोर सहितका संरचनाहरू जलेर नष्ट भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनु भएको छ ।

प्रदेश सभाको धेरै संरचनाहरू जलेर खरानी भएपछि प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । नेपालमा सङ्घीयताको जननी भनेर चिनिएको मधेश प्रदेशको धेरै संरचनाहरू जलेका कारणले यसको व्यवस्थापनमा अझै धेरै समय लाग्ने सभामुख मण्डलले जानकारी दिनु भयो ।

उता मधेश प्रदेश सभा सचिवालयका सचिव बासु कोइरालाले प्रदेशसभाबाट चोरिएका सामानहरू फिर्ता गर्नका लागि सूचना नै जारी गर्नु भएको छ । मधेश प्रदेश सभाबाट प्रिन्टर, एलईडि, कम्प्युटर, फोटोकपी मेसिन, एसी, ब्याट्री, सिसिटिभी क्यामरा, ल्यापटप सहितका सामाग्रीहरू आन्दोलनको क्रममा लुटेर लगेकोमा फिर्ता गर्नका लागि सूचना नै जारी गर्नु भएको छ ।

यसै बीच मधेश प्रदेश सभा सचिवालय क्षेत्रमा भएको आगजनी तथा तोडफोडले छरपष्ट भएका सामाग्रीहरू तथा कार्यालयका खरानीलाई हटाउनका लागि कर्मचारीहरू परिचालित रहेका छन् । आज बिहान देखिनै प्रदेश सभा सचिवालयको सरसफाईमा कर्मचारीहरू लागि परेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button