कास्कीका केही सरकारी कार्यालयहरूबाट सेवा सुरु
पोखरा । कास्कीका सरकारी कार्यालयहरूमा आज सरसफाई गरिएको छ । जेनजी आन्दोलनले आगजनीबाट प्रायः ध्वस्त भएका अधिकांश सरकारी कार्यालयहरूमा आज(आइतबार) सरसफाई गरिएको हो । कास्कीका केही कार्यालयहरूबाट आंशिक सेवा सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा सरसफाइ गरी हाल आंशिक सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार आजदेखि मुद्दा दर्ता, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवा सञ्चालनमा ल्याइएको हो ।
जेनजी आन्दोलनको क्रममा यही भदौ २४ गते भएको आगजनी र लुटपाटका कारण कार्यालयमा ठुलो क्षति पुगेको उहाँले जनाउनुभयो । यसैबिच प्रशासनले सार्वजनिक सूचना जारी गरी कार्यालयबाट अत्यावश्यक सेवा सुरु गरिएको उल्लेख गरेको हो । कार्यालयका संरचना र सामग्रीमा ठूलो क्षति पुगेकाले सबै सेवा एकै पटक सञ्चालन गर्न नसकिने र चरणबद्ध रूपमा विस्तार गर्दै लगिने लम्सालले जनाउनुभयो ।
त्यसै गरी आन्तरिक राजश्व कार्यालय पोखराले पनि आज सरसफाई गरेको छ । आन्दोलनको क्रममा आगजनीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै आगामी केही दिनमै सेवा सञ्चालन गर्ने तयारी गरिएको कार्यालय प्रमुख शिव ढुङ्गानाले बताउनुभयो । कार्यालय परिसरमै अस्थायी कार्यालय स्थापना गरेर भए पनि सेवा सञ्चालन गर्ने उहाँले जनाउनुभयो । कास्कीका अन्य सरकारी कार्यालयहरू पोखरामा रहेका अधिकांश आगजनी भएकोले केहीले सरसफाई पछि आंशिक सेवा सुरु गर्नु भएको छ भने केहीले सरसफाई गर्नुभएको छ ।
पोखरा महानगरपालिका यही असोज ४ गते देखि सञ्चालनमा आउने भएको छ भने केही वडाहरूमा आज सरसफाई गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्