तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा दिन अस्वीकार

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिन अस्वीकार गर्नुभएको छ । 

जेन–जीको आन्दोलनको दिन मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा राजीनामा दिएको घोषणा गर्नु भए पनि प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र नपुगेको जनाइएको छ । आन्दोलन भइरहँदा डा. सीके राउतको फेसबुक पेजमार्फत मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएपछि सिंहले राजीनामाको घोषणा गर्नुभएको थियो ।

नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको मुख्यमन्त्रीले फेसबुकमा स्ट्याटस लेख्नुभएको थियो । 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीका स्वकीय सचिव टिका उप्रेतीले मुख्यमन्त्रीको राजीनामा पत्र हालसम्म नआएको जानकारी दिनुभयो । मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरे पनि अहिले आफू राजनीतिक परिवर्तनको लागि बाधक नबन्ने बताउनुभएको छ । उहाँले आफूलाई हटाएर अरूलाई मुख्यमन्त्री बनाउनको लागि राजनीतिक खेल हुन्छ भने त्यसको लागि आफू तयार नरहेको पुनः सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

जेन–जीको आन्दोलनको क्रममा मधेस प्रदेश सरकारको प्रशासनिक भवन, मधेस प्रदेशसभा लगायत विभिन्न सरकारी कार्यालय तथा नेताहरूको घरमा आगजनी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button