जेन–जी प्रदर्शनमा मृत्यु भएका अभिषेकको परिवार: हाम्रो त संसारै उजाडियो !
काठमाडौँ । गत भदौ २४ गते मङ्गलवार जेन– जी प्रदर्शनको क्रममा संसद् भवन बानेश्वर क्षेत्रमा गोली लागेर मृत्यु भएका दोलखा शैलुङ गाउँपालिका–४ निगालेका अभिषेक चौलागाईको परिवार अहिले विक्षिप्त बनेको छ ।

कक्षा १२ पास गरेर भक्तपुर नयाँ ठिमीको चाणक्य म्यानेजमेन्ट कलेजमा स्नातक तहमा अध्यननसंगै रोजगारी समेत गर्दै आएका परिवारको एक्लो छोरो अभिषेकको प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएपछि मृतकका बुबा दिनेश चौलागाई र आमा रिता सुवेदी चौलागाई अहिले विक्षिप्त बनेका छन् । ‘हाम्रो संसारै उजाडियो’ मृतक अभिषेकका बुबा दिनेशले भने– ‘अब कसरी मन बुझाउन सकिएला र !’
जेन– जीले सरकारले गरिरहेको भ्रष्टाचार, अनियमितता, नातावाद– कृपावाद जस्ता सुशासन विरोधी गतिविधि विरुद्ध सोमवार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मङ्गलवारको प्रदर्शनमा अभिषेक पनि सहभागी भएका थिए । संसद् भवन बानेश्वरमा भएको प्रदर्शनमा उनलाई गोली लागेको हो । गोली लागेपछि अभिषेकलाई तत्काल साथीहरूले उद्धार गरेर अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
अभिषेकको भदौ २४ गते मङ्गलवार नै मृत्यु भए पनि परिवारले भदौ २६ गते बिहीबार मात्र बानेश्वरकै सिभिल अस्पतालमा मृत्यु भएको जानकारी पाएका थिए ।
दिनेश चौलागाईको एक छोरा र एक छोरी मध्य अभिषेक जेठा छोरा हुन् । विगत ७÷८ वर्षदेखि बुबा– आमासँगै भक्तपुरको दुवाकोटमा बसेर अध्ययन गरिरहेका अभिषेक मेहेनती र इमान्दार थिए । ‘पढेर ठुलो मानिस भएपछि परिवारको लागि धेरै काम गर्छु भन्थ्यो, तर देशको लागि गोली खाएर सहिद भयो’–भकानिदै बुबा दिनेशले भन्नुभयो ।
अभिषेकलाई गोली लागेपछि साथीहरूले उद्धार गर्ने क्रममा उसको मोबाइल, परिचयपत्र लगायतका सामग्री सँगैका एक जनालाई राख्न दिएको तर ती साथीसँग फोन सम्पर्क हुन नसक्दा ती सामग्री समेत पाउन नसकिएको मृतक अभिषेकका काका विनोद चौलागाईले बताउनुभयो ।
उद्धार गर्ने क्रममा अभिषेकको सामग्री राख्ने साथीले फोन नम्बर ९८४११५७५४० वा ९८४१५२९१५४ मा सम्पर्क गरी ती सामग्री उपलब्ध गराइदिए उसको अन्तिम निशानी बाबु–आमाले पाउन सक्ने विनोदको भनाइ छ ।
जेन–जी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारले राज्यको तर्फबाट केही सम्बोधन नगरी सब नबुझ्ने अडान राखेकोले अभिषेकको सब समेत परिवारले नबुझेको काका विनोदले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्