सामान्यतर्फ फर्कँदै चितवनको जनजीवन
चितवन। चितवन जिल्लामा जारी कर्फ्यु आदेश हटेपछि जनजीवन सामान्य बन्दै गएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै अवस्था सामान्य हुँदै गएकाले कर्फ्यु आदेश हटाइएको जानकारी दिनुभएको हो। कर्फ्यु हटाए पनि भेला, सम्मेलन, जुलुस तथा जमघट भएर कुनै कार्यक्रम नगर्न अनुरोध गरिएको छ । आन्दोलनबाट त्रसित भएको जिल्लाको अवस्था बिहीबारबाट सामान्यतर्फ फर्केको हो ।

बिहीबार सडकमा जलाइएका गाडी तथा अन्य सामाग्री सरसफाइ गरिएपछि लामो तथा छोटा दुरीका सवारी साधन पनि चल्न थालेका छन् । चितवनका मुख्य सहर भरतपुर, नारायणगढ, रत्ननगर, पर्सा बजारलगायतमा स्थानीय आफ्नो दैनिक काममा फर्किन लागेका छन् ।
जिल्लाको मुख्य चोक तथा बजारमा नेपाली सेनाले सुरक्षा दिई रहेको छ । बजार तथा सार्वजनिक सवारीसाधन पातलो रूपमा सञ्चालनमा आएका छन् । पश्चिम नेपालका बुटवल, भैरहवालगायतबाट राजधानी काठमाडौँ जाने सवारीसाधन नारायणगढ हुँदै सञ्चालनमा आएका छन् । जिल्लाबाट बाहिरिने माइक्रो बस, केही बस र निजी सवारीसाधन सञ्चालनमा आएका छन् ।
भरतपुरको चौबिसकोठी, नारायणगढलगायतका स्थानका पसल सञ्चालनमा आएका छन् । स्थानीय रुटमा चल्ने केही सवारीसाधन पनि चलेका छन् । जिल्लामा विरोधका कुनै पनि गतिविधि भएको छैन । आपसी सद्भाव कायम गर्न पत्रकार महासंद्ध, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले अनुरोध गरिरहेका छन् । आपसी सद्भाव कायम गर्न, नेपालको संविधान अनुसार व्यवस्था सञ्चालन गर्न, जनताको अधिकार सुनिश्चित गर्न अनुरोध गरिएको छ । सद्भाव र्याली निकाल्ने तयारी पापड चितवनले गरेको छ । मानव अधिकारकर्मी राजेन्द्र पौडेलले विद्यमान संविधानबाटै निकास खोज्नुपर्ने बताउनुभएको छ ।
आन्दोलनका क्रममा जिल्लाका सञ्चार गृहमा आक्रमण भएपछि प्रसारण बन्द भएको छ । नेपाल पत्रकार महासङ्घ चितवनको टोलीले आन्दोलनकारीले तोडफोड गरेपछि बन्द भएको कालिका एफएमको अवस्थाका विषयमा बिहीबार अनुगमन गरेको थियो । त्यसै गरी पत्रकारको घरमा भएको तोडफोड तथा आगजनीको विषयमा बिहीबार नै अध्ययन गरेको छ । समाचार सङ्कलनका क्रममा भएको धरपकड, आक्रमण, सहज रूपमा अझै पनि समाचार सङ्कलन गर्न जान सक्ने अवस्था नरहेको विषयमा सबै पक्षलाई शान्तिपूर्ण वातावरण सिर्जना गर्न नेपाल पत्रकार महासङ्घ चितवनले आग्रह गरेको छ
प्रतिक्रिया राख्नुहोस्