तपाईँ सुन्दै हुनुहुन्छः

भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार

महोत्तरी । गत मङ्गलबार साँझ ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन् । 

महोत्तरी कारागार प्रशासनले लहलहैमा भागेका कैदी/थुनुवालाई फर्कन अपिल गरेसँगै बुधबार राति तीन जना फर्केका कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले पुष्टि गर्नुभयो ।

“बुधबार राति तीन जना कारागार आइपुगेका छन्”, ठाकुरले भन्नुभयो, “अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन् ।” भागेकामध्ये अधिकांश कैदी/थुनुवा फर्कने ठाकुरलाई विश्वास बढेको छ । आफूले बुधबार कार्यालयबाटै भागेका कैदी÷थुनुवालाई फर्कन गरेको अपिलको सकारात्मक प्रभाव परेको उहाँको ठम्याइ छ ।

“हामीले कैदी/थुनुवालाई तपाईँहरू फर्कनोस्, कुनै सर्त र थप कारबाही हुँदैन भनेर अपिल गर्यौँँ”, ठाकुर भन्नुहुन्छ, “त्यो अपिल सुने/पढेपछि उहाँहरूको मन फिरेको छ, तीन जना आइपुग्नुभयो, अन्य केहीले आउँदैछौँ भन्नुभएको छ ।” कारागार कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै भागेका कैदी/थुनुवालाई भागेबापत कुनै सजाय नगरिने जनाउँदै २४ घण्टाभित्र आइपुग्न अपिल गरेको थियो । सो अपिलमै स्वेच्छाले नफर्कनेको हकमा खोजी गरेर भेट्टाइँदा थप सजाय गरिने उल्लेख गरिएको थियो ।

यसैगरी, मङ्गलबार साँझ जेनजी आन्दोलनको आडमा कारागार भत्काएर भागेका ५७६ जनामध्ये भारतिर पस्ने क्रममा १० जना भारतीय पुलिसको नियन्त्रण रहेका खबर फैलिएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीमावर्ती भारतीय सुरक्षाकर्मीसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाइने कारागार प्रमुख ठाकुरको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button