तपाईँ सुन्दै हुनुहुन्छः

१० बजेबाट सुरक्षा जिम्मा नेपाली सेनाले लिने

काठमाडौँ । आज राति १० बजेबाट देशको सुरक्षा जिम्मा नेपाली सेनाले लिने भएको छ । नेपाली सेनाले एक सूचना जारी गर्दै आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनीसहित सेना फिल्डमा उत्रिने भएको हो । 

सूचनामा सेनाले भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको छ।

केही समय पहिले प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै हालको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट र आगजनी गर्ने काम गरिरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गर्दै आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वानसमेत गर्नुभएको थियो ।

यदि यस्ता गतिविधि नरोकिएमा नेपाल र नेपालीको सुरक्षाका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू स्थिति नियन्त्रणमा लिनका लागि तयार रहेको सेनाले स्पष्ट पारेको छ। 

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई यस कार्यमा सहयोग गर्न पनि हार्दिक अपिल गरेको छ। त्यसपछि सुरक्षा स्थितिको पुनर्मुल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button